‘नेकपाको अहिलेको विवाद दाजुभाइले झगडा गरेको तर अदालतमा अंशमुद्दा नहालेजस्तो’

निर्वाचन आयोगले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकताबारे कुनै निर्णय नभएको जनाएको छ।

शुक्रबार सत्तारुढ नेकपाका नेताहरूसँग छलफल गरेपछि आयोगले अहिलेसम्म कुनै पक्षले आधिकारिकता दाबी गर्दै निवेदन नदिएको बताएको हो।

आयुक्त ईश्वरी पौडेलेले दुबै पक्षले राजनीतिक दलसम्बन्धी ऐनअनुसार आफू आधिकारिक भएको दाबी नगरेको बताए।

‘उहाँहरू दुबै पक्षले आफूले निर्णय गरेका निर्णय अध्यावधिक गरिदिनुस् भन्नु भएको हो। आयोगले आधिकारिकताबारे कुनै निर्णय गरेको छैन,’ पौडेलले भने,‘उहाँहरूले नमागेको आधिकारिकता दिन हामीले पार्टी फुटाइदिने हो र!’

आयोगका नजरमा अहिले पनि नेकपा एउटै रहेको उनले बताए। नेकपाको अहिलेको विवादलाई उनले दाजुभाइले झगडा गरेको तर अदालतमा अंशमुद्दा नहालेजस्तो भएको बताए।