जो बाइडेन बने अमेरिकाको ४६ औँ राष्ट्रपति

जो बाइडेन अमेरिकाको ४६ औँ राष्ट्रपति बनेका छन् । राजधानी वासिंगट डिसीमा भएको विशेष समारोहमा बाइडेनले राष्ट्रपतिको शपथ लिएका हुन् ।

उनले १२७ वर्ष पुरानो आफ्नो पारिवारिक बाइबलमा हात राखेर राष्ट्रपतिको शपथ लिएका हुन् । ७८ वर्षका बाइडेन सबैभन्दा पाको उमेरमा राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने नेता बनेका छन् अमेरिकाको इतिहासमा । स्थानीय समय अनुसार बुधबार मध्याहन्न शपथ लिएका हुन् ।

कडा सुरक्षा व्यवस्थाका बिच शपथ ग्रहण समारोह भएको हो । समारोहमा राष्ट्रपतिको जिम्मेवारीबाट बिदा भएका डोनाल्ड ट्रम्प सहभागी भएनन् ।

तर उपराष्ट्रपतिको जिम्मेवारी पूरा गरेका माइक पेन्स भने सहभागी भए । ट्रम्प शपथ ग्रहण समारोहको केही घण्टा पहिले भएको बिदाई समारोहमा सहभागी भएर ह्वाइट हाउसबाट बिदा भएका थिए ।

कमला ह्यारिसले उपराष्ट्रपतिका रुपमा शपथ लिएकी छन् । ह्यारिस उपराष्ट्रपति बन्ने पहिलो महिला तथा पहिलो अश्वेत महिला हुन् ।
शपथग्रहणको औपचारिक समारोह पूर्व बाइडेन र ह्यारिस स्थानीय चर्चमा गएर प्रार्थना गरेका थिए । त्यसपछि सेनाको स्मृति पार्कमा पुगेका थिए ।

बाइडेनले बुधबार नै केही कार्यकारी आदेशमा हस्ताक्षर गर्ने तयारी छ ।

तस्बिर : गेट्टी इमेज