रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित कोटिहवामा पाँच वर्षीया बालिका बलात्कृत भएकी छन्। कोटिहवामा परिवारसँग बस्ने बालिकालाई नजिकैको पसल जाने क्रममा २८ वर्षीय युवकले बलात्कार गरेको प्रहरीले जनाएको छ। घटना माघ १ गतेको हो।
बलात्कारमा संलग्न युवकलाई प्रहरीले पक्राउ गरेको छ। अभियुक्त कपिलवस्तु बाणगंगा वडा नं १२ घर भएका हाल तिलोत्तमा नगरपालिका–१३ बबनी बसेर मजदुरी गर्ने होमबहादुर विक रहेका छन्।
बलात्कार आरोपी युवकलाई अदालतबाट म्याद थपको लागि आइतबार जिल्ला अदालत रुपन्देही पठाइएको छ। बिहीबार बालिका हराएको सूचना आएपछि खोज्ने क्रममा बालिकालाई नजिकै रहेको स्थानीयको खेतनजिकै खोल्सामा अचेत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख उपरीक्षक प्रविण पोखरेलले जानकारी दिए।
अपराह्न ५ बजे घरबाट पसल जान निस्किएकी बालिका बेलुका करिब ७ः४५ बजेसम्म घर नफर्केपछि परिवारका सदस्यले प्रहरीलाई खबर गरेका थिए।
प्रहरीले खोजतलास गर्ने क्रममा तिलोत्तमा–१५ कोटिहवामा खेत नजिकै खोल्सामा बालिकालाई गम्भिर अवस्थामा फेला पारेको थियो। मुखमा चोटपटक लागेकी बालिकाको गम्भीर अवस्थामा काठमाडौँ टिचिङ अस्पतालमा उपचार भइरहेको छ।