नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव समूहले आफूहरु नै आधिकारिक नेकपा रहेको दावी निर्वाचन आयोगसँग दोहो¥याएको छ । पुस १७ मा आयोगले यो समूहलाई वैधानिकता दावी गर्न भन्दै पत्र पठाएको थियो ।
पुष्पकमल दाहाल प्रचण्डको नाममा आएको पत्रको जवाफमा यो समूहले थप दावी प्रमाणको आवश्यकता नै नरहेको अडान लिएको छ । पुस १८ मा जवाफ पत्र पठाएको यो समूहले पुस १० मा पेश भएको (दर्ता नम्बर ५५५) कागजात नै पर्याप्त भएको जवाफ दिएको छ । दलसम्बन्धी ऐन–२०७३ को दफा ५१, नियमावली–२०७४ को नियम २५ र अनुसूची १८ ले तोकेको ढाँचामै आवश्यक कागजात बुझाएको पत्रमा उल्लेख छ ।
त्यसैले, नेकपाको वैधानिकता दावी गर्नुपर्ने अवस्था र स्थिति विद्यमान नरहेको जानकारी आयोगलाई गराएको छ । यो समूहले केपी शर्मा ओलीलाई दलको विधान बमोजिम अनुशासनको कार्बाही गरी अध्यक्षबाट हटाएको र उक्त पदमा वरिष्ठ नेता माधवकुमार नेपाल निर्वाचित भएको जानकारी पुस १० मा बुझाएको थियो । त्यो पत्रमा, अध्यक्ष परिवर्तन बाहेक सवै विवरण पार्टी एकतापछि आयोगलाई २०७५ जेठ २३ मा बुझाए अनुसार कायमै रहेको पनि उल्लेख थियो ।
नेकपाको वैधानिकताबारे यो समूहले केन्द्रीय कमिटीको बहुमतको निर्णयलाई आधार मानेको छ । एमाले र माओवादी केन्द्र बीच एकीकरण गरी आयोगमा बुझाएको कागजातमा उल्लेख भएको ४४१ केन्द्रीय सदस्यमध्ये २८७ जनाको हस्ताक्षर अर्थात् ६५.१३ प्रतिशत आफूतिर दावी गरेको छ ।
तर, आयोगले दलको वैधानिकता दावी गर्न भन्दै प्रचण्ड–माधव समूहलाई पत्र पठाएको थियो । यो समूहलाई एक साताभित्र जवाफ दिन भने पनि पुस १८ मै जवाफ पठाएको छ ।