भारतीय एसएसवीको हतियारधारी फौज इलामको गाउँ पसेपछि स्थानीयले गरे प्रतिकार

नेपाल-भारत सीमा क्षेत्र इलामको सूर्योदय नगरपालिका हिले भञ्ज्याङमा भारतीय सशस्त्र सीमा सुरक्षा बल एसएसबीले जबरजस्ती सीमा पिलर गाडेको भन्दै स्थानीयबासीले प्रतिकार गरेका छन्। स्थानीयबासीको प्रतिकारपछि एसएसबीको टोली पिलर उखेलेर भारततिर गएका छन्।

भारतीय सशस्त्र सीमा सुरक्षा बलको टोली जिपिएसले देखाएको सीमा पिलर भन्दै सीमा पिलर गाड्दा त्यहाँ स्थानीयबासीले प्रतिकार गरेका हुन्। उक्त घटना भएको थाह पाएपछि नेपालका सशस्त्र प्रहरीको टोली त्यहाँ पुगेको इलामका प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईंले जानकारी दिए।

उनले भने, ‘हतियारधारी भारतीय सशस्त्र सीमा सुरक्षा बल सीमामा आएपछि नेपालीहरूलाई समस्या भयो। तर हामीले गल्ती गर्यौं भनेर उनीहरू त्यहाँबाट फर्किएका छन्।’

भारतीय सशस्त्र सीमा सुरक्षा बलको टोली शनिबार राति नेपाली क्षेत्र प्रवेश गरेको स्थानीयबासी बताउँछन्। भारतीय सशस्त्र सीमा सुरक्षा बलको टोलीलाई सीमामा देखेपछि सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई खबर गरेका थिए।

तर यो समस्या स्थानीयस्तरबाटै समाधान गर्न सकिने प्रमुख जिल्ला अधिकारी सेढाईंले बताए। उनले भने, ‘उनीहरू सीमा क्षेत्रमा आउने नयाँ कुरा होइन। तर सम्झाएर पठाउने काम भएको छ।’