
अफ्रिकी देश नाइजरमा बिद्रोहीको आक्रमणमा ज्यान गुमाउनेको संख्या १०० पुगेको छ ।
नाइजरका प्रधानमन्त्रीले शनिबार दुई गाउँमा भएको आक्रमणमा १०० जनाको ज्यान गएको अहिलेसम्म थाहा लागेको बताएका हुन् ।
इस्लामिक बिद्रोहीले ग्रामीण क्षेत्रमा गरेको आक्रमणमा सर्वसाधारणको ज्यान गएको हो।
ट्चोम्बान्गोउ गाउँमा भएको आक्रमणमा ज्यान गुमाउनेको संख्या ७० पुगेको छ । यस्तै जारोउम्दारेयी गाउँमा भएको आक्रमणमा ३० जनाको ज्यान गएको हो।
नाइजरको इतिहासमा एकैदिन धेरैको हत्या भएको सीमित घटनामा शनिबारको आक्रमण पर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् ।

दुवै गाउँ नाइजरको मालीसँगा जोडिएको पश्चिमी सीमा क्षेत्रमा पर्छन् । पछिल्लो समय इस्लामी बिद्रोही समूहले सो क्षेत्रमा हिंसात्मक आक्रमण गर्दै आएको छ ।
अहिलेसम्म दुई गाउँमा भएका आक्रमणको जिम्मा कुनै पनि समूहले लिएको छैन । तर स्थानीय मेयरलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले आक्रमणकारीहरु झण्डै १०० वटा मोटरसाइकलमा गाउँ गएको उल्लेख गरेको छ ।
उनीहरुले दुई समूहमा विभाजित भएर दुई गाउँमा आक्रमण गरेको एएफपीले जनाएको छ । आक्रमणमा अरु ७५ जना घाइते भएको स्थानीय मेयर अलमोउ हसानेले बताएका छन् ।