सङ्घीय संसदको माथिल्लो सदन राष्ट्रियसभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ। संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त अधिवेशन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा अपराह्न चार बजे बस्ने गरी आह्वान गरेकी हुन् ।
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अध्यक्षतामा बसेको कार्यव्यवस्था परामर्श समितिले अधिवेशनको पहिलो दिनको बैठकमा पेश हुने कार्यसूचि तयार गरेको छ ।
सङ्घीय संसद सचिवालयका अनुसार बैठकको सुरुमै अधिवेशन आह्वान र मन्त्रिपरिषद पुनर्गठनसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाइने छ ।
यसैबिच अध्यक्ष तिमिल्सिनाबाट जारी भएको राष्ट्रियसभाका समिति गठनसम्बन्धी आदेश, २०७७ सभाबाट अनुमोदनका लागि पेश हुने कार्यसूचि छ ।
बैठकमा अधिवेशन प्रारम्भ भएको अवसरमा उक्त सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताले अधिवेशन सफलताका लागि शुभकामना मन्तव्य राख्ने छन् ।