साउदी अरबमा महिलाले सवारी चलाउन पाउने अधिकारको वकालत गरेकी अधिकारवादीलाई जेल सजाय

लुजैना अल-हथलुललाई सन् २०१८ मा पक्राउ गरिएको थियो

साउदी अरबकी एक प्रख्यात महिला अधिकारवादी लुजैना अल-हथलुललाई जेल सजाय सुनाइएको छ। उनले महिलाहरूले सवारी हाँक्न पाउने अधिकारको वकालत समेत गरेकी थिइन।

३१ वर्षकी हथलुलले हालसम्म साढे दुई वर्षभन्दा बढी जेल जीवन बिताइसकेकी छन्।

उनीसहित केही अधिकारवादीहरूलाई साउदी अरबविरुद्ध रहेको ठानिएका संस्थाहरूसँग सम्पर्क गरेको आरोपमा सन् २०१८ मा पक्राउ गरिएको थियो। अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरूले पटक-पटक उनलाई रिहा गर्न माग गर्दै आएका छन्।

तर सोमवार आतङ्कवादविरुद्धको अदालतले राष्ट्रिय सुरक्षामा क्षति पुर्‍याउन खोजेको र देशमा विदेशी मुद्दाहरूलाई अघि बढाएको आरोपमा उनलाई दोषी ठहर गरेको छ।

उनलाई पाँच वर्ष आठ महिनाको जेल सजाय सुनाइएको हो। दुई वर्ष १० महिनाको सजाय भने रद्द गरिएको बताइएको छ। हथलुल र उनको परिवारले भने सबै अभियोग अस्वीकार गरेका छन्। उनलाई जेलमा यातना दिइएको समेत परिवारको दाबी छ तर त्यो दाबीलाई अदालतले खारेज गरिदिएको छ।

हथलुललाई साउदी महिलाहरूलाई सवारी हाँक्न अनुमति दिइनुभन्दा केही हप्ता अघि पक्राउ गरिएको थियो।

उनले त्यो मुद्दालाई जोडदार रूपमा उठाएकी थिइन्। साउदी अधिकारीहरूले भने यो विषयसँग उनको पक्राउको कुनै सम्बन्ध नभएको बताएका छन्।

हथलुल परिवारले पक्राउपछि उनलाई प्रशासनले तीन महिनासम्म सम्पर्कविहीन बनाएको र उनलाई करेन्ट लगाइनुका साथै कुटपिट गरिएको अनि उनी यौन उत्पीडनको सिकार भएको आरोप लगाएको छ।

आफूलाई जेलमा यातना नदिइएको बताउने सर्तमा उनलाई रिहा गर्ने प्रस्ताव राखिएको परिवारको दाबी छ। मानव अधिकारवादहरूले उनको सुनुवाइमा अन्तर्राष्ट्रिय मापदण्ड पूरा नभएको बताएका छन्।-बीबीसी