कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले अदालतले संसद् विघटनलाई यथावत् राखेमा कांग्रेसको आन्दोलन चुनाव गराउनतर्फ केन्द्रित हुने बताएका छन् । ‘संसद् विघटनको संवैधानिक व्याख्या र न्याय निरुपण सर्वोच्च अदालतले गर्छ, संविधानकोे अन्तिम व्याख्या गर्ने अधिकार सर्वोच्चकै हो, उसको निर्णय नै अन्तिम हो, हामीलाई चित्त बुझ्न पनि सक्छ, नबुझ्न पनि सक्छ,’ सहमहामन्त्री डा. महतले भने, ‘यदि सर्वोच्चले संसद् पुनर्स्थापना गर्यो भने फेरि दुई वर्षको कम्युनिस्ट शासन हामीले व्यहोर्नुपर्ने अवस्था छ, त्यो पनि हाम्र लागि चाहिँ राम्रो कुरा होइन, अहिलेलाई फेरि अरू कोही आएर राम्रो गर्लान् भन्ने छैन, फेरि उनीहरूले रमाइलोचाहिँ गर्छन्, कुनै राम्रो काम गर्नेवाला छैनन् । अदालतले यो विघटनलाई कायम राख्यो भने हाम्रो चासो र चिन्ता चुनावमा हो, चुनावका लागि आन्दोलन केन्द्रित गर्छौँ ।’
काठमाडौं क्षेत्र नं. ५ ले गरेको विरोध सभामा बोल्दै सहमहामन्त्री डा. महतले जनताबाट अनुमोदित नभईकन शासन सत्तामा रहिरहने अधिकार कसैलाई पनि नभएको बताए । ‘संसद् नभएपछि एक्लै चलाउने हुँ भन्ने सोचेको भए गलत हो । जनताले चुनेर पठाउँदा सत्ता सम्हाल्न नसक्नेहरूलाई सत्तामा बसिरहने कुनै अधिकार छैन, निर्वाचन गर्न हामी बाध्य पार्नेछौँ, निर्वाचनको बाटोमा देश गयो भने कांग्रेसको जित निश्चित छ,’ उनले भने ।
उनले ओली सरकारले आश्वासनको पोको बाँड्नेबाहेक काम गर्न नसकेको बताएका छन् । ‘ओलीजीले जस्तो गफ चुटेर देश बन्दैन, देश बनाउन काम गर्नुपर्छ, कांग्रेस काम गर्ने पार्टी हो । हामी काम गर्छौँ, कुरा गर्दैनौँ । हामी हल्ला गर्दैनौँ,’ उनले भने, ‘कम्युनिस्टहरू नगरेका कुरा पनि गर्न जान्दछन्, हामी गरेका काम पनि भन्न जान्दैनौँ । कांग्रेस कार्यकर्ता, शुभचिन्तक र समर्थकले अब आफ्नाबारेमा जनतालाई भन्नुपऱ्याे ।’
सहमहामन्त्री डा. महतले नेकपा सरकारको अकर्मण्यताका कारण जनता वाक्कदिक्क भएको बताए । ‘जनतालाई ठूलो आश्वासन बाँडेको थियो, हामी दुई कम्युनिस्ट एक भयौँ, ५० वर्ष शासन चलाउँछौँ, युवालाई रोजगारी दिन्छौँ, भ्रष्टाचार त छेउमै पर्न दिन्नँ भनेर ओलीजी सत्तामा विराजमान हुनुभयो, तर पाँच वर्षका लागि निर्वाचित ओली सरकार तीन वर्षमै संविधानमाथि आक्रमण गर्न उत्रिएको छ, संसद् विघटन गरेको छ,’ सहमहामन्त्री डा. महतले भने ।
उनले सरकार र सत्तारुढ नेकपाका नेताहरू भ्रष्टाचारको चंगुलमा रुमल्लिएको आरोप लगाए । ‘जनताले झन्डै दुईतिहाइ मत दिए, तर सरकारका मन्त्री र नेकपाका नेताहरू भ्रष्टाचार गर्न व्यस्त छन्, जनताले उपचार नपाएर अस्पतालदेखि अस्पतालसम्म दौडिरहेको देख्दैनन्, जनताले दुःख पाएको देख्दैनन्,’ उनले भने, ‘उहाँहरूको चाख कमिसन कति आउँछ ? आफ्नो हिस्सा कति हो ? भन्नेभन्दा अरूमा रहेन ।’
पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका डा. महतले ओली सरकारकै कारण नेपाल भारत र चीनको चलखेलको अखडा भएको आरोप लगाए । ‘अहिले शक्तिराष्ट्रहरू प्रतिस्पर्धा गरिरहेका छन्, नेपाल त उनीहरूको चलखेलको अखडा भएको छ,’ उनले भने, ‘ओलीजी आफ्नै काँधमा राष्ट्रियता अडिएजस्तो गरेर प्रस्तुत हुनुभयो, तर आज यथार्थ देख्दा दुःख लाग्छ, अहिले उहाँहरूले जनतालाई शक्तिको स्राेत होइन, विदेशीलाई शक्तिको स्राेत ठान्नुभएको छ, कहिले रअ प्रमुख आउँछन्, कहिले चीनका रक्षामन्त्री आउँछन् ।’ उनले ओली र नेकपाका कारण नेपालको स्वाभिमानमाथि आँच आएको बताए ।