नेपालमा अप्रत्यासित रुपमा भएको संसद भंग र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनप्रति उत्तरको छिमेकी मुलुक चीन चिन्तित देखिएको छ ।
चिन्ताकै बिच चिनियाँ कम्युनिष्ट पार्टीका अन्तराष्ट्रिय विभाग उपमन्त्री गहो येचौको आज नेपाल भ्रमणमा आउँदैछन् । नेपालको राजनीतिक घटनाक्रमको बारेमा चीनले अहिलेसम्म कुनै पनि औपचारिक प्रतिक्रिया दिएको छैन । समाचार स्रोतका अनुसार नेपालको राजनीतिक घटनाक्रमबारे वस्तुस्थिति बुझ्न सो टोली काठमाडौं आउन लागेको हो ।
समाचार स्रोतका अनुसार चीनको अहिलेको सबैभन्दा ठूलो चिन्ता नेकपा विभाजन हो । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको बिचमा एकता गराउन र त्यसपछि नेकपाको गठनपछि त्यसलाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको चीन एकता भंगपछि चिन्तित छ ।
पछिल्ला महिनाहरुमा नेकपाभित्र शक्ति संघर्ष बढ्दै गएपछि चीनले नेकपामा उच्च नेतालाई भन्दै आएको थियो– प्रधानमन्त्री र पार्टी अध्यक्ष को बन्ने भन्नेमा हाम्रो कुनै सुझाव छैन तर नेकपा एकताबद्ध भने होस् ।
केही महिनायता नेकपा जोगाउन र प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार पाँच वर्षसम्म टिकाउन चीनले नेकपाका नेताहरुलाई सुझाव र दबाव दिँदै आइरहेको थियो । पूर्वसभामुख कृष्ण बहादुर महरासँगको भेटमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले विभाजनबारे चासो राख्दै एकताको सम्भावनाबारे पनि जिज्ञासा राखेकी थिइन् ।चिनियाँ सरकारले केही नबोले पनि चिनियाँ सरकारको मुखपत्र ग्लोबल टाइम्सले भने नेपाल अस्थिरता र अनिश्चयतर्फ जाने उल्लेख गरेको छ
पछिल्लो समयमा नेकपाका नेताहरुसँगको भेटमा राजदूत यान्छीले पुनः मिल्न सुझाव दिएकी छन् । आज आउने चिनियाँ विदेशमन्त्रीले पनि विभाजनको कारणबारे छलफल गर्न र पुनः मिल्नको लागि सुझाव दिने बताइएको छ ।
नेकपासँगै जोडिएको चीनको अर्काे चिन्ता हो, नेपालमा फेरि राजनीतिक अस्थिरता कायम हुने भयो । राजनीतिक अस्थिरता कायम हुँदा नेपालमा आफ्ना सुरक्षा चासोहरु प्रभावित हुने चीनको बुझाइ छ ।
राजतन्त्रको अन्तदेखि नै आफ्ना संवेदनशीलता बुझ्ने र सम्बोधन गर्ने एक भरपर्दाे शक्तिको खोजीमा चीन थियो । जब माओवादी संविधान सभाको पहिलो निर्वाचनबाट सबैभन्दा ठूलो दलको रुपमा उदायो, चीनले माओवादीले विश्वासिलो शक्तिको रुपमा हेर्न थालेको थियो तर पछि माओवादी विभाजित भयो ।
त्यसपछि उसले लगातार नेपालका कम्युनिष्ट पार्टीहरुलाई मिल्न सुझाव दियो तर त्यसो हुन सकेन । अन्ततः २०१८ मा दुई कम्युनिष्ट पार्टी तत्कालीन एमाले र तत्कालीन माओवादीको मिलन भयो र शक्तिशाली कम्युनिष्ट पार्टीको निर्माण भयो ।
त्यतिबेला चीन नेपालमा आफूले चाहेको शक्ति सत्तामा आएको र नेपालका राजनीतिक स्थिरता कायम भएकोमा निकै उत्साहित थियो ।
चिनियाँ कम्युनिष्ट पार्टीले नेकपासँगको सहकार्यलाई निकै प्राथमिकता दिन थाल्यो । भ्रमणदेखि विचारको आदानप्रदान समेत हुन थाल्यो । तर यही साता नेकपामा विभाजन मात्र भएन, नेपालमा पुनः राजनीतिक अस्थीरता शुरु हुने चिन्ता बढ्यो ।
यस सम्बन्धमा चिनियाँ सरकारले केही नबोले पनि चिनियाँ सरकारको मुखपत्र ग्लोबल टाइम्सले भने नेपाल अस्थिरता र अनिश्चयतर्फ जाने उल्लेख गरेको छ ।
चीनको तेस्रो चिन्ता हो, विगतमा दुई देशको बिचमा भएका सहमति र सम्झौता कार्यान्वयन हुन्छ कि हुँदैन । गत वर्ष चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको समयमा दुई देशको बिचमा थुप्रै सहमति र सम्झौता भएका छन् तर कोभिडको संकटका कारण ती कार्यान्वयन हुन सकेका छैनन् ।
त्यसैगरी दुई तिहाइको सरकार बन्दा पनि अगाडि बढ्न नसकेको बेल्ट एण्ड रोड परियोजनाको भविश्य अझ संकटमा पर्ने चिनियाँ चिन्ता छ ।











