प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध आइतबार अविश्वासको प्रस्ताव दर्ता हुँदैछ।
शनिबार साँझ बर्खास्त गरिएका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोका अनुसार आइतबार नै प्रस्ताव दर्ता गरिनेछ।
उनले भने, ‘समय कतिबेला भन्ने चाहिँ टुंगो भएको छैन। तर आजै दर्ता हुन्छ। हामी तयारी गरिरहेका छौँ।’
प्रचण्ड-नेपाल समूहलाई प्रदेश १ मा सरकार बनाउन बहुमत पुग्ने देखिन्छ। तर तल्ला संरचनामा समझदारीमा सरकार चले उत्तम हुने प्रधानमन्त्री केपी शर्मा ओली निकट प्रदेश सभा सदस्य बसन्त बानियाँ बताउँछन्।
उनले भने, ‘उहाँहरूको बहुमत पुग्ने देखिन्छ। तर भोलि प्रदेशसभा नै नरहने दुर्घटना निम्तिन्छ कि भन्ने चिन्ता छ।’
सबै प्रदेशमा यो संकट आइरहेको बताउँदै प्रदेश सभा सदस्य बानियाँले राष्ट्रपतिले प्रदेशसभा नै विघटन गर्ने संभावना रहेको बताए।
उनले भने, ‘न रहे बाँस न बजे बाँसुरी जस्तो हुने संभावना छ।’