वामपन्थी नेता स्वनाम साथीको निधन

 वरिष्ठ वामपन्थी नेता स्वनाम साथी (शशी शेरचन) को निधन भएको छ । स्वनामको शुक्रबार राति निधन भएको हो । ७० वर्षका उनको मोडल अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

निमोनियासँगै कोरोना संक्रमण भए पनि उनी यसअघि नै कोरोना संक्रमणमुक्त भइसकेका थिए । पछिलो समय सीमा बचाऔँ अभियानको नेतृत्व गरिरहेका स्वनाम वामपन्थी आन्दोलनको सम्मानित नाम हो ।

प्रचण्डले वक्तव्य जारी गरेर कम्युनिष्ट आन्दोलनमा उनको योगदानको स्मरण गरेका छन् । उनले भनेका छन्, ‘कमरेड स्वनामले २०२५ सालमा कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गर्नुभएको थियो । २०३३ सालमा उहाँकै नेतृत्वमा सर्वहारा कम्युनिष्ट लीग गठन भयो । २०३८ सालमा सर्वहारा श्रमिक संगठन नेपाल निर्माण गरी उहाँले किसान आन्दोलन चलाउनुभयो । कमरेड शेरचनको आदर्शपूर्ण पक्ष नै आन्दोलन प्रतिको समर्पण, वर्गीय मुक्ति, देशभक्ति र निजी स्वार्थको तिलाञ्जली थियो । उहाँका यिनै आदर्श कम्युनिष्ट आन्दोलनका लागि प्रेरणादायी र अनुकरणीय हुनेछन्।’