केपी ओली नेतृत्वकै नेकपा मुलधार हो

निर्मल भट्टराई

लामो समयदेखि आफ्नै पार्टीको अनुचित घेराबन्दीमा पर्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरिएपछि देशको राजनीतिमा अभूतपूर्व तरङ्ग पैदा भएको छ । नेकपाका तत्कालीन कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डको अगुवाईमा एक बर्षदेखि प्रधानमन्त्री ओलीलाई सरकार र पार्टी चलाउन नदिने चक्रव्यूहलाई प्रधानमन्त्रीको विशेषाधिकार प्रयोग गरेर निकास दिनु भएपछि सो कदमप्रति असहमति जनाउदै माधव नेपालसहितका पूर्वएमालेका केही नेताहरु समेटेर छुट्टै पार्टी गठन गर्ने अभियानमा लागेका छन ।
जनताको चाहनाहनुसार बनेको नेकपाभित्र जतिसुकै षडयन्त्र, जालझेल र गुटबन्दी गरेपनि केपी शर्मा ओलीको राजनीतिक उचाईलाई गिराउन नसकेपछि छुट्टै पार्टी गठन गर्ने रहर गरेका भए पनि ऊनीहरुको ‘पार्टी’ न विधि पद्धतिमा चल्ने संभावना छ, न यसले कुनै उपलब्धि हासिल गर्न सक्छ ।
क. वैचारिक सवाल
प्रचण्ड-माधवको गठबन्धन वैचारिक सवालमा प्रष्ट छैन । माओवादको ह्याङ्ओभरबाट ग्रसित प्रचण्ड र जनताको बहुदलीय जनवादबाट दिगभ्रमित माधव नेपालबीचको वैचारिक केमेस्ट्री तत्काल मिल्न संभव छैन । पार्टी बनाउन कस्सिएको सो समूह पार्टी बनाउन चाहिने सबभन्दा प्रमुख विचार निर्माण गर्न सक्ने अवस्थामै छैन । लामो समयदेखि कोमामा रहेको नेकपाको सांगठानिक वैचारिक अभियान प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा वायुपङ्खी गतिमा अगाडि बढ्न थालेपछि बल्खुस्थित जननेता मदन भण्डारीको प्रतिमामा माल्यार्पण गर्न पुगे पनि यो समूह मदनको विचार जनताको बहुदलीय जनवादसंग कहिल्यै सहमत हुन सकेको छैन । करिब अढाई दशक कहिले किरणबाट र कहिले बाबुरामबाट विचार सापटी लिएर माओवादी पार्टी चलाएका प्रचण्ड र जननेता मदन भण्डारीको रहस्यमय दाशढुङ्गा दुर्घटनापछि केपी-ईश्वरको वैवारिक दोहन गर्दै करिब डेढ दशक एमालेको नेतृत्व गरेका माधव नेपाल आफैं यो देश र समाज अगाडि बढाउने विचार निर्माण गर्ने तागत राख्दैनन। नेपाली मनमनमा बसेको जनताको बहुदलीय जनवादलाई विस्थापित गर्ने विचार निर्माण नगरी वैकल्पिक कम्युनिष्ट पार्टी निर्माण संभव छैन ।

ख. पदलक्षित गठबन्धन
प्रचण्डलाई एनकेन प्रकारेण केपी शर्मा ओलीबाट प्रधानमन्त्री पद हत्याउनु थियो । तर उनले त्यो पाउन सकेनन। माधव नेपाललाई ‘एक व्यक्ति एक पद’ को दुन्दुभी बजाउदै केपी ओलीबाट अध्यक्ष खोस्न एक बर्ष अगाडिदेखि नै लागेका हुन। अर्का नेता झलनाथ खनालको ‘अर्जुनदृष्टि’ राष्ट्रपति पदमा थियो । प्रचण्ड-माधवले पनि उनलाई सो पद दिन सहमत भएका थिए । नेकपाका प्रथम अध्यक्ष एवं प्रधानमन्त्री ओलीविरुद्ध रचिएको खुमलटार गुटबन्दीमार्फत गरिएको निरन्तर घेराबन्दी यसैको परिणाम थियो । पदलाई लक्ष गरेर निर्माण गरिएको गठबन्धन पानीको फोकाझैं क्षणभङ्गुर हुन्छ भन्ने जग जाहेरै छ ।

ग. भागबण्डाको कहर
विचारमा ग्रे एरिया राखेर भागबण्डालाई प्रमुख आधार मानेर तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रको एकता भएको थियो । तलदेखि माथिसम्म भागबण्डामा अलमलिंदा केन्द्रदेखि आधारभूत तहसम्मका पार्टी कमिटीहरु-निकायहरु लथालिङ्ग अवस्थामा रहे । पार्टी कमिटी र निकायमार्फत गरिने जनताका काम हुन सकेनन। तीनै तहका सरकारले पार्टीको तर्फबाट पाउनु पर्ने सुझाब, पृष्टपोषण र नियन्त्रण पाउन सकेनन । सबै तहका सरकारले गरेका राम्रा कामको पार्टीमार्फत जनतामा सम्प्रेषण हुन सकेनन। एकता प्रक्रिया नै अन्यौलमा पर्दा भेला, गोष्ठी, सम्मेलन, अधिवेशन नहुदा जनतामा नेकपाको राजनीति पुग्न सकेनन । केन्द्रदेखि तृणमूल तहसम्म चुस्त जीवन्त एमालेको गौरबशाली परम्परा खण्डित हुनपुग्यो । एकतामा आएका नेताहरुलाई उनीहरुको योग्यता, क्षमताअनुसार जिम्मेवारी दिनु पर्ने र सही विचारले पार्टी चलाउने कम्युनिष्ट परम्पराको सट्टा भागबण्डाको अनुपातलाई क्याल्कुलेटरमा थिच्ने र दशमलव अंकमा पौंठेजोरी खेल्ने स्थिति उत्पन्न भयो । निःसन्देह, यो दुश्चक्र अब प्रचण्ड-माधव समूहमा सरेको छ । यो यस्तो कहर हो, जसले पार्टी चल्न दिदैन ।

घ. एमाले मतदाता एक ढिक्का
सबैले पार्टी जनतामा गएर बनाउने हो । प्रचण्ड-माधव समूहले पनि एमालेको विशाल पङ्क्तिलाई भत्काएर पार्टी बनाउन प्रयास गर्ने हो । तर त्यो तत्काल संभव छैन, किनभने एमालेका मतदाता विभाजन हुने मनस्थितिमा छैनन । बरु उनीहरू माओवाद र प्रचण्डको नेतृत्वलाई मन पराउदैनन । उनीहरू जननेता मदन भण्डारी, जनताको बहुदलीय जनवादी विचार शृंखला र एमालेको विरासत बोकेको केपी शर्मा ओली नेतृत्वको नेकपातिरै सहजै गोलबन्द हुने पक्का छ । सत्तरी टेकेकी, विगतमा सधैं एमालेलाई मात्र भोट हालेकी एक महिलाको ‘माधव नेपाल त माओवादी भए रे !’ भन्ने टिप्पणी यहाँ स्मरणीय छ । राजनीतिमा धेरै कुरा हुन्छ, तर मतदाताले एउटा खास कुरा बुझेको हुन्छ ।

ङ. प्रचण्डको निरङ्कुश शैली
प्रचण्डको पूर्वमाओवादी समूह बहुमतमा रहेको सो समूहमा अल्पमतमा रहेको पूर्वएमाले समूह शुरुदेखि नै निरीह बनेको छ । माओवादी कमाण्डरी शैली बोकेर आएका प्रचण्ड र उनको समूहको बर्बर शैली सहन पूर्वएमाले समूह पुरानो घर हार गुहार गर्दै फर्कने लर्को हेर्न धेरै समय कुर्नु पर्दैन ।