नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र अर्का नेता तथा अध्यक्षमा चयन गरिएका माधवकुमार नेपाल समूहको केन्द्रीय समिति बैठकले आगामी पुस २५ गतेसम्मका लागि आन्दोलन र संगठनका कार्यक्रमहरु घोषणा गरेको छ।
दाहाल-नेपाल समूहले पार्टी एकतालाई कमजोर पार्न खोज्ने सबै प्रकारका गतिविधिविरुद्ध पार्टी एकता अझ सुदृढ बनाउने कार्ययोजना सार्वजनिक गरेको छ।
पुस १० गते बिहान साढे नौ बजे माइतीघर मण्डलामा र १२ बजे निर्वाचन आयोगमा नेकपा केन्द्रीय कमिटीका सदस्यहरु र पार्टीका तर्फबाट संसदमा रहेका सांसदहरुको उपस्थितिमा विशेष कार्यक्रम सञ्चालन गरिने जानकारी बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। शुक्रबार पार्टी अध्यक्षहरुका तर्फबाट पत्रकार सम्मेलन गर्ने जानकारी पनि उनले दिए।
पुस ११ गते प्रदेश कार्यालयबीच संयोजनात्मक छलफल र ७ दिनभरि प्रदेश कमिटी बैठक गर्ने जानकारी पनि श्रेष्ठले दिए।
पुस १२ गते ७७ जिल्लामै जिल्लास्तरीय कार्यकर्ता भेला गर्ने र एकीकृत पार्टीलाई कसरी सशक्त रुपमा अघि बढाउने पनि उनले बताए।
पुस १४ गते काठमाडौँ र जिल्लाजिल्लामा विरोध कार्यक्रम गर्ने जानकारी पनि उनले दिए।
पुस २० गतेसम्म गाउँपालिका र नगरपालिका स्तरमा कार्यक्रम गर्ने र पुस २५ गतेसम्म वडावडामा कार्यक्रम गर्ने जानकारी पनि दिए।
पुस १४ गतेसम्म जनवर्गीय संगठनको केन्द्रीय बैठक बस्ने जानकारी पनि उनले दिए।
संघर्षलाई व्यवस्थित गर्न नारायणकाजी श्रेष्ठको संयोजकत्वमा २५०१ सदस्यीय केन्द्रीय समिति गठन गरिएको पनि जानकारी दिए।
सम्बन्धित प्रदेशसँग सम्बन्धित स्थायी समिति र प्रदेश कमिटीका सदस्यहरुलाई तत्कालै कार्यक्षेत्रमा जुट्न पनि बैठकले निर्देशन दिएको छ।
बैठकको सुरुमा ‘अध्यक्ष’ माधव नेपालले एकीकृत पार्टीका विरुद्ध सबै षड्यन्त्रहरुलाई परास्त गर्ने बताए। त्यस्तै, अध्यक्ष दाहालले अहिंसात्मक आन्दोलन अघि बढाउने बैठकमा बताएका थिए।











