राष्ट्रपति भण्डारीद्धारा संसद विघटन, वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन घोषणा

राष्ट्रपति विद्यादेवी भण्डारी , फाइल फोटोः प्रदेशखबर.कम

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् । साथै, आमनिर्वाचनको मितिसमेत तोकिएको छ ।

आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने प्रस्ताव राष्ट्रपतिसमक्ष लगेका थिए । संसद विघटनको प्रस्तावको मन्त्रीहरूबाटै विरोध भएको थियो भने सत्तारुढ र विपक्षी दलहरुले समेत संविधानविपरीत भएको बताएका थिए ।

वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन गर्ने घोषणा पनि राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी छन्।

सरकारले नेपालको संविधानको धारा ७६ को उपधारा (१० र (७) तथा धारा ८५ र संसदीय अभ्यासलाई मध्यनजर गर्दै विघटन गरिएको राष्ट्रपति कार्यालयबाट जारी सूचनामा जनाइएको छ।

राष्ट्रपति कार्यालयको सूचनामा उल्लेख गरिएको छ, ‘नेपालको संविधानको धारा ७६ को उपधारा (१० र (७) तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य मान्यता तथा हाम्रो आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुकहरूको अभ्यास बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकबाट निर्णय भई सोही बमोजिम सम्माननीय प्रधानमन्त्रीबाट सिफारिस भएकोले उक्त सिफारिस बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरी मिति २०७८ साल बैशाख १७ गते शुक्रबार पहिलो चरणमा र मिति २०७८ साल बैशाख २७ गते सोमबार दोस्रो चरणमा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्नु भएको छ।’