अख्तियारका पूर्व प्रमुख बस्न्यातलाई थुनामा राख्न आदेश, डिल्ली बजार कारागार चलान

ललितानिवास प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई विषेश अदालतले थुनामा राख्न आदेश दिएको छ।

ललिता निवास प्रकरणमा आइतबार अदालतमा बयान दिन पुगेका बस्न्यातविरुद्ध न्यायाधिशद्धय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले थुनामा पठाउने आदेश सुनाएको हो। बस्न्यातलाई डिल्ली बजार कारागार चलान गरिएको छ।

विषेश अदालतले आइतबार थुनछेक आदेश गर्दै बस्न्यातलाई थुनामा पठाउने निर्णय गरेको थियो। भीआईपी थुनुवाका लागि डिल्ली बजार कारागार चर्चित छ। नेपाल प्रहरीका पूर्व प्रमुख रमेश चन्दलाई त्यही राखिएको थियो। टिकापुर घटनामा दोषी ठहर रेसम चौधरीलाई पनि डिल्ली बजार कारागारमै राखिएको छ।