नेकपा सचिवालय बैठकमा अध्यक्ष ओलीले भने: दुबै पद छाड्दिनँ, जे मन लाग्छ गर्नोस्

प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार दिउँसो बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले आइतबार दिउँसो स्थायी कमिटीको बैठक बोलाउने निर्णय गरेको छ ।

आइतबार दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा स्थायी कमिटीको बैठक बस्ने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि सञ्चार माध्यमलाई जानकारी दिएका छन् । सचिवालयका सबै, ९ जनै नेताहरुको उपस्थितिमा बसेको बैठकले स्थायी कमिटीको बैठक बोलाएको हो । आइतबारको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डका पत्र र लिखित प्रस्तावहरु प्रस्तुत हुने कार्यसूची छ ।

नेताहरुले स्थायी कमिटीमा जाने भन्दै गर्दा अध्यक्ष केपी ओलीले त्यसमा असहमति जनाउँदै ‘बल प्रयोग नगर्न’ आग्रह गरे । ‘मलाई केही भन्नु छैन, शायद तपाईहरुको तयारी पुग्यो होला, सबै कुरा मलाई थाहा छ, यसरी पार्टीमा बल प्रयोग नगरौं । आजको बैठकमा पनि बल प्रयोग भएको छ,’ प्रधानमन्त्री ओलीले शनिबारको बैठकमा भने, ‘त्यो लाञ्छना पत्रलाई छलफलमा लैजान सकिँदैन, भोलि स्थायी कमिटीको बैठक नगरौं, अलि दिन सचिवालयमै निकास निकालेर बैठक गरौं । स्थायी कमिटीको बैठक गर्न एजेण्डा पनि छैन, तयारी पनि छैन ।’

अध्यक्ष ओलीले बोलिसकेपछि माधव नेपालले प्रतिवाद गर्दै भने, ‘अहिले पनि उहाँमा म नै सुपि्रम हो भन्ने छ, गल्ती स्वीकार गर्नुपर्छ भन्ने नै छैन…।’

ओलीले भने, ‘भोलि स्थायी कमिटी बस्दैन’

वीचमा उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्रीलाई सोधे, प्रधानमन्त्रीज्यूले टाइम माग्नुभएको हो ? वामदेवलाई जवाफ दिँदै अध्यक्ष एवं प्रधानमन्त्री ओलीले भने, ‘टाइम भनेको के हो ? प्रधानमन्त्री र अध्यक्षबाट हटाउने भनेको हो भने महाधिवेशनसम्म अध्यक्ष र अर्को चुनावसम्म प्रधानमन्त्रीबाट हटाउन सम्भव छैन, तपाईहरुले खोजेको निकास त्यो हो भने जे मन लाग्छ, गर्नोस् ।’

कार्यदल बनाउने प्रस्ताव अस्वीकृत

बैठकमा सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा बादलले दुबै अध्यक्षको प्रतिवेदनलाई मिलाएर साझा प्रस्ताव तयार पार्न सचिवालयमै कार्यदल गठन गरौं भन्ने प्रस्ताव राखेका थिए । बादलको प्रस्तावलाई तत्कालै महासचिव विष्णु पौडेल र अर्का नेता ईश्वर पोखरेलले समर्थन जनाए । महासचिव पौडेलले वामदेवकै नेतृत्वमा स्थायी कमिटीका केही सदस्यलाई समेत राखेर कार्यदल बनाउने प्रस्ताव राखे ।

तर, उपाध्यक्ष गौतमले त्यस्तो कार्यदलको औचित्य नहुने र आफू कार्यदलमा नबस्ने बताए । जे निर्णय गर्ने हो, स्थायी कमिटीमा छलफल गरेर त्यहीँबाट हुनुपर्ने गौतमले बताएपछि आइतबार दिउँसो १ बजेका लागि स्थायी कमिटीको बैठक डाक्ने टुंगोमा सबै नेताहरु पुगेको स्रोतले बतायो ।