हामी राष्ट्रसेवक हौं, सङ्कटका बेला पछि नहटौं, सुरक्षित साथ काम गरौं

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमण २१ औं शताव्दीकै सबैभन्दा ठूलो मानवीय संकटका रुपमा देखिएको छ । यस संक्रमणबाट आजसम्म एक लाख भन्दा बढीको ज्यान गइसकेको छभने र १७ लाख भन्दा बढी मानिसहरुमा यसको संक्रमण देखिएको छ । सम्पूर्ण विश्व नैं यतिवेला लक डाउन मात्रै होइन, सम्पूर्ण काम कारबाही र कारोवार पनि ठप्प प्राय छ ।
कोरोना विरुद्धको युद्धमा विकासको दृष्टिले आफुलाई अब्वल देखाउने बिकसित राष्ट्रहरु र अति कमबिकसित राष्ट्रहरु अहिले उक्त रोगको रोकथामका लागि एउटै मोर्चामा उभिएका छन् । कोरोना संक्रमणको उपचार भनेको व्यक्ति व्यक्ति बीचको सम्पर्क कम गर्नु हो जसका लागि आम नागरिकहरु घरभित्रै आइसोलेसनमा बस्नुनैं उत्तम उपाय हो । हाम्रो सरकारले पनि सबै नागरिकलाई सबै कामहरु बिर्सेर घरभित्रै बस्न भनिरहेको छ र देशमा पनि आवश्यक बाहेकका अन्य सबै सेवाहरु ठप्प पारिएको छ ।
देशभरका मानिसहरु घरभित्रै सरकारको आदेशलाई पालना गरेर बसिरहेका छन् । मेरो घर परिवारका सदस्य एवम् आफन्तजनहरु पनि अहिले घरभित्रै छन् । तर स्थायी सरकारका रुपमा स्थापित सरकारी कर्मचारी भएका कारण म अहिले सरकारले दिएको जिम्मेवारी बहनगर्दै फिल्डमा खटिइरहेको छु ।
आफ्नो जिम्मेवारी बहन गर्ने क्रममा वाहिर निस्कँदा कतै म आफैं संक्रमित भइन्छ कि भन्ने डर पनि लगिरहन्छ । तथापी सजगता अपनाउने कुरामा कहिं कतै कमजोरी गरेको जस्तो लाग्दैन । तर परिवारका सदस्यले आफ्नो संरक्षकको स्वास्थ्यको चासो राख्दै फोन गरिरहँदा कुनै बेला त झस्कन्छु ।
कार्यालय र वाहिर रहँदा थुप्रै मानिसहरुसँग भेट हुन्छ । आफुले सावधानी अनाइरहँदा पनि कार्यालयमा आउने अन्य व्यक्तिहरुले सावधानी अपनाएका छैनन् कि भन्ने लाग्छ र डर अझै बढेर आउँछ । घर परिवारका सदस्यले फोन गर्दा वा भिडियो कल गर्दा म कतै हिंडेको छैन, कसैलाई भेटेको छैन त भन्ने गरेको छु । कहिले काँही त कार्यालयमा आउनु भएका साथीभाई देख्दा वा आवाज सुन्दा त्रसित हुने गरिँदो रहेछ ।
कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि स्थानीय निकायको ठूलो जिम्मेवारी रहेछ । यस्तो अबस्थामा सरकारले दिएको जिम्मेवारी बहन गर्नुपर्दा डर लाग्नु स्वाभाविकनैं जस्तो लाग्छ । कोरोना संक्रमणको फैलावट हामीले प्रयोग गर्ने सामाग्रीहरु, हामी बस्ने सोफा, मेच वा यस्तै सामाग्रीहरु र कागजातहरुबाट पनि हुन्छ भन्ने कुराहरु आइरहेको अबस्थामा पनि कागजपत्र छुने, चलाउने, कार्यालय कोठा र त्यहाँका सामाग्रीहरु प्रयोग गर्नुपर्ने हुँदोरहेछ । यस्तो अबस्थामा म कागजपत्र वा अन्य सामाग्री छुन्न भन्नु भएन ।
तथापी हामी राष्ट्रसेवक हौं, मलुकमा सरकार नहुँदा कर्मचारीले स्थायी सरकारका रुपमा काम गरेकै हो । त्यसैले राज्यलाई आपत परेका बेला मैंले आफ्नो जिम्मेवारी विगतमा भन्दा अहिले अझै बढी निर्वाह गर्नुपर्छ भन्ने कुरा भित्र मनदेखीनैं आउँदो रहेछ । यस्तो अबस्थामा पिडितहरु हुन सक्छन्, उनीहरुका लागि मैंले नगरे अर्को कोहीले गर्नै पर्ने हुन्छ । त्यो काम राजनैतिक नेतृत्व अन्र्तगत रही कर्मचारीहरुलेनैं गर्ने हो । त्यसैले देशका निम्ती काम गर्न पछि हट्ने होइन, सुरक्षित साथ अगाडि बढ्नुपर्छ भन्ने सोचले यतिबेला काम गर्दोरहेछ ।

मैंले पनि सामाजिक दुरी कायम राख्दै आएको छु । कार्यालयमा बस्ने क्रममा बाहिरका मानिसँगको भेटघाटलाई अत्यन्तै कम गरेको छु । काम गर्ने क्रममा सेनिटाइजरको प्रयोगलाई निरन्तारता दिएको छु । कार्यालयमा बसेर काम गरिरहँदा पनि घर परिवारबाट अझै कार्यालयमैं बसिराखेको, अरुहरु कार्यालयमा नजाँदा हुन्छ तपाई मात्रै जानुपर्ने ? जस्ता कुराहरु नआउने होइन । ‘म सुरक्षित साथ बसिरहेको छु भनेर घरका मानिसहरुलाई पनि संझाईरहेको छु । तर मैंले भनेको कुरामा उनीहरुलाई सन्देह लागिरहेको हुन्छ, त्यसैले बेला बेलामा फोन गरिरहन्छन् ।
अहिले हामीहरु सँग यसको बिकल्प पनि छैन । मुख्य कुरा भनेको हामीले आफ्नो कर्तव्य निर्वाह गर्ने हो । कोरोना संक्रमणको कुनै पनि उचार पद्धतिनैं छैन । यस्तो अबस्थामा उच्च मनोवलका साथ काम गरौं । सुरक्षाका न्यूनतम कुराहरुमा हामी सबै राष्ट्रसेवक कर्मचारीहरुले ख्याल गरौं । यो सकटबाट देश र जनतालाई जोगाउन तपाई हामीलेनैं काम गर्ने हो । (साभारः कमलामाई फिचर सेवा)