नेकपामा नयाँ निकासको अभ्यास सुरु, बहुमत र अल्पमतको अभ्यासमा जानुपर्ने अबस्था आयो: प्रधानमन्त्री ओली

नेकपाका शक्तिशाली अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि अर्का अध्यक्ष प्रचण्डले लगाएको आरोप सत्य ठहरिए आफू दुवै पदबाट हट्ने, असत्य ठहरिए प्रचण्ड अध्यक्षबाट हट्नुपर्ने बताएको तथ्य बाहिर आएको छ ।

लामो अडान तोड्दै बुधबारको केन्द्रीय सचिवालय बैठकमा सामेल भएका ओलीले प्रचण्डले गत कार्तिक २८ गतेको सचिवालय बैठकमा पेश गरेको प्रस्तावको खण्डन गर्दै त्यस्तो बताएका हुन्।

अध्यक्ष ओलीको सम्वोधनमा भनिएको छ: ‘यी आरोप या त सदर ठहरिनु पर्यो, अनि प्रधानमन्त्री र अध्यक्ष हट्नु पर्यो । यो आरोप सही ठहरिदैँन भने यस्तो आरोप लगाउनेले यसको जिम्मेवारी लिनुपर्यो, यसको जवाफदेहिता लिनुपर्यो।’

यस्तै ओलीले बहुमत या अल्मतलाई आफूले ‘फर्मल्ली’ नदेखेको अव यसमा जानुपर्ने अवस्था आएकोसमेत बताएका छन् ।

प्रचण्डको प्रस्तावले विगतका सहमति, समझदारी अन्त्यको घोषणा गरिसकेको भन्दै अब पार्टीमा नयाँ निकासको अभ्यास सुरु हुने पनि ओलीको भनाई थियो । अध्यक्ष ओलीको सम्वोधनमा अन्य सचिवालय सदस्यलेसमेत समर्थन जनाएको थाहा भएको छ ।