नेकपा सचिवालय बैठकमा महासचिव विष्णु पौडेलको प्रस्तावः ‘हामी असफल भयौँ, सामूहिक राजीनामा दिउँ र नयाँ पुस्तालाई हस्तान्तरण गरौँ’

नेकपाका महासचिव विष्णु पौडेलले पार्टीको केन्द्रीय सचिवालय बैठकमा हामीहरुको नेतृत्व असफल भएको भन्दै सामूहिक राजीनामा गर्न प्रस्ताव गरेपछि बैठकमा तरंग उत्पन्न भएको छ ।

‘हामीले सरकार पनि चलाउन सकेनौँ। पार्टी पनि चलाउन सकेनौँ। यसरी चलाउनुभन्दा सामूहिक राजिनामा दिउँ। नयाँ पुस्तालाई हस्तान्तरण गरौँ’, बैठकमा पौडेलले गरेको प्रस्ताव उद्धृत गर्दै एक सहभागीले प्रदेशखबरलाई जानकारी दिए । महासचिव पौडेलको उक्त प्रस्तावपछि उपस्थित सचिवालय सदस्यहरु मुखामुख गरेका थिए ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत असन्तुष्ट समूहले बोलाएको सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओली र उनी पक्षधर पौडेललगायतका नेताहरु अन्तिम समयमा मात्र सहभागी भएका थिए।

कार्यकारी अध्यक्ष प्रचण्डलगायत असन्तुष्ट पक्षका बहुमत सचिवालय सदस्यहरुको प्रस्तावमा बुधबार बालुवाटारमा बसेको बैठक प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा १० दिनका लागि स्थगित भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।