शीर्षस्थ नेताबीच मनमुटाव देखिँदा अथवा उनीहरू दूरी बढ्दा सत्तारूढ दलका कतिपय नेताले त्यसलाई मेटाउन भूमिका निर्वाह गर्ने गरेका छन्।
नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व पङ्क्तिबीच अहिले विवाद उत्कर्षतर्फ बढिरहेको राजनीतिक विश्लेषकहरू बताउँछन्।
कतिपयले नेकपा ‘फुटको दिशातर्फ’ नै बढिसकेको दाबी गरिरहेका छन् भने कतिपयले विगतमा जस्तै नेताहरूबीच ढिलोचाँडो ‘कुरा मिल्ने’ बताइरहेका छन्।
तर विगतमा मध्यमार्गी भूमिकामा देखिएका नेकपाका कतिपय नेता चाहिँ यस पटक खासै आशावादी नदेखिएको उनीहरूको अभिव्यक्तिबाट भान हुन्छ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पत्रमार्फत् एकअर्कामाथि आरोप लगाएपछि नेकपाभित्रको तनाव छताछुल्ल भएको छ।
नेकपाका एक मध्यमार्गी नेता हरिबोल गजुरेल आफूहरू पार्टीलाई फुटबाट जोगाउन लागिपरेको बताउँछन्।
“दुर्घटनातिरै बढिरहेको छ। हामीलाई बडा दुःख पनि लागिरहेको छ कि हामीले बुझिरहेका कुरा नेता [शीर्षस्थ] ले किन बुझिरहेका छैनन्।”
“सामान्य जनताले बुझ्ने कुरा उहाँहरूले किन नबुझेको होला,” मङ्गलवार बीबीसी न्यूज नेपालीसँग कुरा गर्दै उनले भने।
आमजनता र कार्यकर्ता कोही पनि फुटको पक्षमा नरहेको तर्क गर्दै गजुरेलले थपे, “तर नेताहरूका गतिविधि फुटतिरै अग्रसर छन्।”
सत्तारूढ नेकपा फुटेमा त्यसको अरू दलमा पनि पर्ने र देशमा फेरि राजनीतिक अस्थिरता शुरू हुने उनको आकलन छ।
अर्का नेता सुवास नेम्वाङ्ग नेकपाभित्र देखिएको पछिल्लो तनावबारे खासै खुल्न चाहेनन्।
आफू पछिल्लो कुनै औपचारिक छलफलमा सहभागी नभएको बताउँदै उनले भने, “आपसमा छलफल गरी दुई नेता अध्यक्षद्वय सहमतिमा पुग्नुपर्छ भन्नेमै छु म।”
त्यो दिशामा तपाईँहरूले के गरिरहनुभएको छ भन्ने जिज्ञासामा नेम्वाङ्गले भने, “हामीले प्रयास गरिरहेका छौँ।” कुराकानीमा नेता सुरेन्द्र पाण्डेले पनि पछिल्लो समय आफूहरूको प्रयास खासै प्रभावकारी हुन नसकेको सङ्केत गरे।
“त्यस्तो विशेष हुन सकेको छैन। तिहारअघि कार्यदलका सदस्यमध्ये हामी चारजना भीम रावल, विष्णु पौडेल, शङ्कर पोखरेल र म मात्रै भेट्न सक्यौँ,” उनले भने।
“पछि जनार्दन शर्माजी र पम्फा भुसालजीले कुराकानी गरेर समयको खेर मात्र हुन्छ भन्ने आशयको कुरा गरेको विष्णु पौडेलजीले मलाई सुनाउनुभयो।”
सचिवालय बैठक तोकिएको भएर पनि आफूहरू बीचको कुराकानी आवश्यक नदेखिएको हुनसक्ने पाण्डेको ठम्याइ छ। नेकपाले बुधवार सचिवालय बैठक डाकेको छ। सो बैठक बस्नेबारे नै धेरैले आशङ्का व्यक्त गरिरहँदा उनले सहमतिमै बोलाइएकोले बैठक बस्ने विश्वास व्यक्त गरे।











