मैले बैठक बसाल्न चाहेकै छु, सहमतिमा बसौँ भन्ने अनुरोध हो: प्रधानमन्त्री ओली

नेकपा अध्यक्ष पुष्पकमल दाहालसहित बहुसंख्यक सचिवालय सदस्यहरुको उपस्थितिमा सचिवालय बैठक गर्न दृढ देखिएपछि प्रधानमन्त्री कार्यालय बालुवाटारमा बसेको प्रधानमन्त्री ओली, महासचिव बिष्णु पौडेल, उपप्रधानमन्त्री ईश्वर पोखरेलसहितको बैठक सकिएको छ।

बैठकमा प्रधानमन्त्री तथा नेकपाका अर्का अध्यक्ष ओलीले आफूले सचिवालय बैठक बसाल्नै चाहेको तर सहमतिमा बैठक बस्न अनुरोधमात्र गरेको बताएका छन्।

उनले बैठकका क्रममा भने, ‘ मैले बैठक बसाल्न चाहेकै छु, सहमतिमा बसौँ भन्ने अनुरोध हो।’

उनले आफूले पार्टी फुटाउन नचाहेको जिकिर पनि गरेको बैठकमा सहभागी नेकपा संसदीय दलका उपन‍ेता सुवासकुमार नेम्वाङले जानकारी दिए। बैठकमा प्रदेश ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ र परराष्ट्रपति प्रदीप ज्ञवाली पनि सहभागी थिए।

बैठकमा नेम्बाङले दुई अध्यक्ष मिलेरै अघि बढ्ने हो भने पार्टीमा विग्रहको अवस्था रोक्नु आवश्यक रहेको बताएका थिए। उनले बैठकका क्रममा ओलीलाई भने, ‘केही दिन बैठक रोकेर भए पनि तपाईँहरु मिल्नुको विकल्प छैन।’

नेम्बाङले नेकपा फुटेको खण्डमा ७० वर्षको उपलब्धि धराशायी हुने र कम्युनिष्ट पार्टी सकिने दाबी पनि गरेका छन्।

ओली समूहमा रहेका गृहमन्त्री रामबहादुर थापा बादलसमेत बुधबारको बैठकमा सहभागी हुने तयारी भएपछि प्रचण्ड समूहले बोलाएको सचिवालय बैठक थप रोचक बनेको छ।

बादलनिकट पार्टी सांसद मायाप्रसाद शर्माका अनुसार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली र उनका समर्थकहरु बैठकमा सहभागी नभए पनि बादल उपस्थित  हुनेछन्।

ओली, अर्थमन्त्री पौडेल र उपप्रधनमन्त्री पोख्रेलले प्रचण्डसहित पाँच सचिवालय सदस्यहरुले भष्ट्राचार, आफन्तवादलगायतका आरोपसहित पद त्याग्न गर्न ओलीसँग गरेको आग्रहसहित सचिवालयमा पेश राजनीतिक प्रस्ताव फिर्ता नलिएमा बुधबारको बैठक नहुने अडान लिएका छन्। उता प्रचण्डले मंगलबार बिहान नेकपा महासचिव बिष्णु पौडेलसँगको भेटमा सचिवालय बैठक कुनै पनि हालतमा नरोकिने अडान राखेका थिए।