तीनजना भारतीय धर्मगुरुमा कोरोनाभाइरसको सङ्क्रमण देखिएपछि उनीहरू रहँदै आएको क्षेत्रमा स्थानीय प्रशासनले आवतजावतमा कडा बन्देजसहित ‘सील’ गरिदिएको छ।
ती तीनैजना सप्तरीमा भएको एउटा धार्मिक सभामा सहभागी हुन आएको बताइएको छ।
तर भारत र नेपाल दुवै देशमा ‘लकडाउन’ गरिएका कारण भारत फर्कन नसकेपछि उनीहरू वीरगञ्जको छपकैयाको मस्जिदमा विगत केही समयदेखि बस्दै आएको स्थानीयवासीको भनाइ छ।
उनीहरूमध्ये दुईजना उत्तरप्रदेश र एकजना दिल्लीका वासिन्दा हुन्।
सप्तरीमा आयोजित मुस्लिम धार्मिक सभामा सहभागी हुन आएका उनीहरू त्यही बेलादेखि नेपालमा रहँदै आएको मस्जिदका मौलाना अलि असगरले बताए।
पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले सङ्क्रमितहरूले गत डिसेम्बर महिनादेखि नै नेपालमा रहँदै आएको बताएको जनाएका छन्। तर स्थानीयका अनुसार उनीहरू वीरगञ्जको मस्जिदमा विगत १५ दिनदेखि देखा परेका हुन्।
वीरगञ्ज छपकैयाको मस्जिदमा भने केही सातादेखि रहँदै आएपनि घर फर्कनुअघि एकपटक स्वास्थ्य जाँच गराउनु उपयुक्त सम्झेर उनीहरू आफैँ नारायणी अस्पतालमा पुगेको मस्जिदका मौलानाले बताए।
उनीहरूसँगै २१ जना अन्य पनि परीक्षणका लागि नारायणी अस्पताल पुगेको बताइएको छ।
अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट मदन उपाध्यायले शुक्रवार आफैँ अस्पताल आइपुगेका भारतीय धर्म गुरुहरूले चेकजाँचका लागि आग्रह गरेको तथा हेटौँडामा उनीहरुको स्वाब पठाइएपछि शङ्कास्पद देखिएको र तत्काल आइसोलेशनमा चिकित्सकको निगरानीमा राखिएको बताए।
उक्त वडा र आसपासका स्थानलाई समेत नै सील गरि सङ्क्रमितहरू गएका वा रहेका स्थानको समेत पहिचान कार्य सुरु गरिएको बताए।
उनले सील गरिएको स्थानबाट मानिसहरू अत्यावश्क बाहेक घर बाहिर निस्किन नपाइने गरी बन्देज लगाइएको बताए।
कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएसँगै वीरगञ्ज महानगरपालिकामा सुरक्षा व्यवस्था कडा पारिएको पनि जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
महानगरपालिकामा आइतवार सुरक्षा समितिको बैठक समेत बसि विभिन्न निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले बताएका छन् ।

यस्तै बैठकले वीरगञ्जमा छुट्टै कोरोनाभाइरस विशेष अस्पताल सन्चालन गरिने निर्णय पनि भएको उनले बताए।
वीरगञ्जको एक निजी अस्पताल भाडामा लिएर छुट्टै कोरोनाभाइरस विशेष अस्पताल सञ्चालन गरिने बताइएको छ।
हालसम्म नारायणी अस्पतालको कवारन्टीनमा १२५ जना र आइसोलेशनमा ३ जना रहेका छन्।
यससँगै वीरगञ्जको नारायणी अस्पतालमा आकस्मिक बाहेकका अरू सबै सेवा शनिवारदेखी बन्द गरिएको छ।
अस्पतालमा उपचारका लागि आउने बिरामी र स्वास्थ्यकर्मी दुवै जोखिममा पर्न सक्ने भएकाले आकस्मिक उपचार बाहेकका अरू सबै उपचार सेवा बन्द गरिएको बताइएको छ।
त्यहाँ कोरोनाभाइरस सङ्क्रमितहरूको उपचारका लागि आवश्यक शैय्या तथा स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने सामग्री अभाव हुन सक्ने बताइएको छ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बाराको कलैया र महोत्तरीको जलेश्वरमा थप कोरोना विशेष अस्पतालको लागि व्यवस्थापनको तैयारी भइरहेको जानकारी दिएका छन्।