ओलीले गुटबन्दी भएको भन्दै प्रचण्डसहितका नेताहरुलाई भनेः बैठक बोलाउन सक्तिनँ

अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहमतिमा आइतबार या सोमबार डाक्न असन्तुष्ट पक्षले गरेको आग्रहलाई ओलीले कुनै निष्कर्ष नदिएको थाहा लागेको छ ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ शनिबार सामूहिक रुपमा बालुवाटार पुगेर ओलीलाई पत्र बुझाएका थिए । उनीहरुले स्थायी कमिटी निर्णय कार्यान्वयन, कोभिडको अवस्था, राष्ट्रियताको विषय, संघीयताका मुद्दामा छलफलको माग गर्दै पत्र बुझाएका छन् ।
प्रवक्ता श्रेष्ठले पार्टी एकता रक्षाका लागि तथा समग्र विषयमा छलफल गर्न बैठक बोलाउन लिखित माग गरिएको बताए ।

तर, पत्र बुझाउन गएका सचिवालयका सदस्य र ओलीबीच तिक्तातापूर्ण संवाद भएको थियो । ओलीले गुटबन्दी भएको र आफूले बैठक बोलाउन नसक्ने जवाफ दिएको सचिवालयका एक सदस्यले बताए । ती सदस्यका अनुसार बैठक डाक्न माग गर्दै बालुवाटार पुगेका सचिवालयका बहुमत सदस्यलाई ओलीले उल्टै प्रश्न गरे, ‘गुटबन्दी भयो, बैठक किन बस्ने ?’

पत्र बुझाउनुअघि सचिवालयका पाँच नेताले पार्टी मुख्यालय धुम्वाराहीमा छलफलसमेत गरेका थिए । शुक्रबार कार्यकारी अध्यक्ष दाहालले सचिवालयको बोलाएको अनौपचारिक बैठकमा अर्का अध्यक्ष ओलीलाई बैठक बोलाउन माग गर्दै पत्र लेख्ने निर्णय भएको थियो । पत्रअनुसार बैठक बोलाउन ओली तयार नभए औपचारिक बैठकको तयारीमा लाग्ने सचिवालयका बहुमत सदस्यहरुको तयारी छ ।

उनले आफूहरुले सकेसम्म छिटो भोलि या पर्सीसम्ममा बैठक डाक्न सहमत हुन प्रधानमन्त्री ओलीलाई आग्रह गरेको जानकारी दिए।

बैठकका लागि प्रचण्डले ओलीलाई पटक–पटक आग्रह गर्दै आएका थिए।

तर ओलीले केन्द्रीय सचिवालय बैठक डाकेमा त्यसैदिन पार्टी फुटको घोषणा आफूबाट हुने चेतावनी प्रचण्डलाई दिइसकेका छन् ।

श्रेष्ठले कोरोना महामारी, त्यसले उत्पन्न गराएको संकट, पार्टी स्थायी कमिटी बैठकका निर्णय कार्यान्वयन प्रक्रिया र पछिल्लो पटक पार्टीमा देखिएको समस्याबारे छलफल गर्नका लागि बैठक बोलाउनु पर्नेमा जोड दिएको बताए।

तर ओलीले नमानेमा के गर्ने भन्नेबारे अहिले नै आफूहरुले नसोचेको उनको भनाई छ।