जनयुद्धकालिन आफ्ना सहयात्रीहरु गुमाउँदै आएका नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीविरुद्धको मार्चाको नेतृत्व गरिरहेका छन् । संभवतः यसपटक अध्यक्ष प्रचण्डको यो भाग्य र भविश्यको परीक्षा हुँदैछ । त्यसमा पास हुने संकेत प्रचण्डले शनिबार ओलीसँगको भेटवार्तामा देखाएपनि त्यसमा पूर्ण भरोसा भने देखिंदैन । खासगरी माधव नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ स्वयम्ले पनि विश्वास गरिहालेका छैनन् । त्यसैले उनीहरुले खुलमलटार भेलामा भनेका थिए,‘अब दुई चार मन्त्री पाइयो भन्दैमा खुट्टा नडगमाउनु । यसअघि जस्तो शंकास्पद ब्यवहार नगर्नु ।’ ओलीबाट प्रचण्डले पटकपटक धोका पाउनुमा उनको पदीय विचलित स्वाभावले पनि भूमिका खेल्ने गरेको छ ।
ओलीविरुद्ध मोर्चा निर्माण गरेपनि सत्ता र शक्तिका लागि ओलीसँग ‘गोप्य’ सहमति गरिहाल्ने प्रचण्डको यसअघिको बानीमा केही सुधार आउँने आँकलन नेताहरुले गरिरहेका बेला यस पटक पनि पुरानै शैली दोहोरिन्छ र नेकपामा दोस्रो पटक अस्थायी युद्धविराम हुन्छ भन्नेहरुका सामु प्रचण्ड पहाडहरु उभिएका छन् र त्यसलाई छिचोल्नका लागि उनको पिपलपाते शैली कामयाबी हुनैपर्छ । तर जनयुद्धदेखी पार्टी एकतासम्मका यात्रालाई नियाल्दा अहिले पनि विधी र पद्धति पाखा लाग्ने अबस्था विद्यमान छ । आफुले जे गरेपनि त्यही बिधी मान्ने अध्यक्षद्धयको शैली नेकपाका लागि आत्मधाती सावित हुँदैछन् । प्रचण्ड र ओलीको सम्बन्ध पार्टी फुटाउन चाहेको भन्दै एकअर्कालाई दोष दिनेतहसम्मसम्म पुग्नु मुलुक र जनताका लागि दुःखदायी हुन् । पार्टी बचाउने तर्फ लाग्नुपर्ने अध्यक्षद्धयका कार्यशैली पार्टी हित बिपरितछन् ।
विधी र पद्धतिलाई लागु गराउन प्रयत्न गर्ने नेपाल, खनाल, श्रेष्ठ महासचिव विष्णु पौडेल र रामवहादुर थापा बादलजस्ता दोस्रो पुस्ताका नेताहरुको अहिलेको सक्रियता सत्ता परिवर्तन होइन, विधि र पद्धित स्थापित गराउन केन्द्रीत हुनुपर्छ । सामाजिक सञ्जालमा एक अर्कामाथि दोष थोपरेर, अर्ति उपदेश दिएर होइन, आत्मालोचित हुँदै आफ्ना कमीकमजोरी स्वीकार्दै गुटगत स्वार्थबाट माथि उठियो भने मात्रै समस्याको दिर्घकालिन समाधान हुनेछ । अन्यथा पतनकै बाटो अबलम्मन गर्नुपर्नेछ ।