निर्णायक राज्यहरु विस्कन्सिन र मिसिगनमा जित हात पारेसँगै अमेरिकी राष्ट्रपति निर्वाचनको दौडमा डेमोक्र्याटिक पार्टीका ७८ वर्षीय जोन बाइडेन विजयको नजिक पुगेका छन्।
उनले कुल ५३८ इलेक्टोलर सिटमध्ये वियजका लागि आवश्यक २७० सिट नजिक आफूलाई पुर्याएका छन्। नेपाली समयअनुसार बुधबार बिहानसम्म उनले २५३ सिटमा जित निश्चित गरेका छन्। उनका प्रतिष्पर्धी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिलेसम्म २१३ सिटमै आफूलाई सीमित राखेका छन्। विस्कन्सिन र मिसिगनमा जित हासिल गरेसँगै बाइडेन विजयको बाटोमा उन्मुख रहेका हुन्।
अब निर्णायक मानिएको पेन्सेल्भेनियामा बाइडेनले मतान्तर कम गर्दै लगेका छन्। एरिजोना र नेभाडामा बाइडेन अगाडि छन्। जर्जिया र नर्थ क्यारोलाइनामा भने ट्रम्प अगाडि छन्। अलास्कामा पनि ट्रम्प नै अग्रस्थानमा छन्।
पेन्सेल्भेनिया नजिते पनि अब एरिजोनाका ११ र नेभाडाका ६ गरी बाइडेनलाई चुनाव जित्न १७ सिट काफी हुनेछन्।
उता ट्रम्पले मतगणनामा डेमोक्र्याटिक पक्षले झुक्याएको आरोप लगाउँदै पुन: मतगणनाको माग राखेका छन्। उनले आफूले हार व्यहोरेको मिसिगनमा हुलाकमा मतगणना स्थगित गरी छानबिन गर्न पनि माग राखेका छन।