ओली कुबाटोमा छन्, अरू उनको सती जाने कि बेलैमा नयाँ समाजवादी बाटो बनाउने : भट्टराई

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाललाई नयाँ समाजवादी बाटो बनाउन सुझाव दिएका छन् ।

सोमबार ट्वीट गर्दै भट्टराईले नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सती नजान आग्रह गरेका हुन् । नेकपाभित्र चरम विवाद भइरहेका बेला भट्टराईले ओली कुबाटोमा लागेको आरोप समेत लगाएका छन् ।

’विश्व कम्युनिष्ट आन्दोलन धरासायी हुनुको एउटा प्रमुख कारण मूल पार्टी र नेतृत्वले रंग फेरिसकेपछि पनि बाँकी नेता–कार्यकर्ताले बेलैमा विद्रोह गर्न नसक्नु हो भन्ने हिजोका झापाली–माओवादीले कति छिटो बिर्सेको ?’ भट्टराईले ट्वीट गरेका छन् ’ओली आफ्नो कुबाटोमा दृढ छन्, अरू उनको सती जाने कि बेलैमा नयाँ समाजवादी बाटो बनाउने ?’