नेकपामा दोस्रो तहका नेताहरु विवाद समाधान गर्न सक्रिय

सत्तारुढ नेकपाभित्रको पछिल्लो विवादले पार्टी विभाजनको खतरा बढेपछि दोस्रो तहका नेताहरु विवाद समाधान गर्न सक्रिय भएका छन् ।

पार्टी महासचिव विष्णुप्रसाद पौडेल, स्थायी कमिटी सदस्यहरु सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, शंकर पोखरेल, देवेन्द्र पौडेल लगायतका नेताहरु दुवै समूहलाई मिलाउने प्रयासमा जुटेका हुन् ।

पार्टीका अरु नेता र कार्यकर्ताले पनि पार्टी विभाजनतर्फ जान नदिन शीर्ष नेताहरुलाई खबरदारी गरेका छन् । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पनि आफू निकटका नेताहरुसँग औपचारिक तथा अनौपचारिक छलफलमा जुटेका छन् । पछिल्लो पटक मन्त्रिपरिषद् पुनर्गठन, कर्णाली प्रदेशको विवाद र प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था रअका प्रमुखसँग भेटघाट गरेको विषयलाई लिएर नेकपाभित्र फेरि विवाद चर्किएको हो ।

नेकपामा यसअघि पनि यसैगरी विवाद चर्किएको थियो । भदौ २६ गते बसेको स्थायी कमिटी बैठकले पुरानो विवाद नदोहोर्याउने र चैतमा पार्टीको एकता महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर एकअर्कालाई दोषारोपण गर्दै शीर्ष नेताहरुबीच फेरि विवाद सुरु भएको हो ।

अध्यक्ष प्रचण्डले हिजो आफू पक्षीय नेताहरुसँगको छलफलमा पार्टी फुटको नजिक पुगेको बिफ्रिङ गरेका थिए । बहुमत सचिवालय सदस्यको भेलामा प्रचण्डले प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाउने प्रस्ताव गरेको बताएका हुन्।

भेलामा वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र सचिवालय सदस्य रामबहादुर थापा सहभागी थिए । प्रधानमन्त्री एवं अर्का अध्यक्ष ओलीले पनि बालुवाटारमा आफू पक्षीय नेताहरुसँग परामर्श गरेका थिए ।