कर्णालीमा आज मन्त्रिपरिषद् हेरफेर गर्दै, नेपाल समूहका तीनजनाले स्थान पाउने

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज (आइतबार) आफ्नो मन्त्रिपरिषदमा हेरफेर गर्ने तयारी गरेका छन्।

त्यसका लागि उनी आइतबार बिहानदेखि आन्तरिक सल्लाह र परामर्शमा जुटेको उनी निकट स्रोतले बताएको छ।

मुख्यमन्त्री शाहीले पूर्वसहमति अनुसार आफूविरुद्ध अविश्वासको प्रस्ताव ‘फेल’ गराउन सहयोग गरेका माधवकुमार नेपाल समूहका सातजनामध्ये तीनजनालाई आफ्नो मन्त्रिपरिषद्मा स्थान दिने निश्चित भएको स्रोतले बतायो।

आफू निकट दुई मन्त्रीलाई राजीनामा नदिन नेकपा अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिएको बुझिएको छ।

मुख्यमन्त्री महेन्द्रबहादुर  शाहीले आइतबार माधव नेपाल समूहका सांसदहरुसँग भएको पूर्वसहमति अनुसार आफ्नो मन्त्रिपरिषदमा हेरफेर गर्दैछन्।

तीनजनालाई स्थान दिने तयारी गरेका बेला ओलीले आफू निकट मन्त्री दल रावल र नन्दसिंह बुढालाई हतारमा राजीनामा नदिन निर्देश दिएको पार्टी स्रोतले बतायो।

यता मन्त्री रावलले आइतबार सामाजिक सञ्जालमा भनेका छन्,‘ कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रीको हैसियतले ३२ महिनाको अवधिमा मन्त्रालयलाई नवजात अवस्थाबाट शिशु अवस्थामा पुर्‍याउन प्रत्यक्ष वा परोक्ष रूपमा सहयोग गर्नुहुने समआदरणीय महानुभावहरु प्रति ऋणी छु ।’

स्रोतका अनुसार रावल र बुढालाई मुख्यमन्त्री शाही पक्षबाट राजीनामा दिन दबाब आएको छ।