करेन्ट लागेर २ जनाको मृत्यु

करेन्ट लागेर महोत्तरीमा नेपाल विद्युत प्राधिकरणका एक कर्मचारीको मृत्यु भएको छ। विद्युत लाईन मर्मत गर्न पोलमा चढेका नेपाल विद्युत प्राधिकरण बर्दिबासका कर्मचारीको करेण्ट लागेर मृत्यु भएको विद्युत प्राधिकरणको गौशाला वितरण केन्द्रले जनाएको छ।

मृत्यु हुनेमा रौतहट पौराह नगरपालिका बसन्पट्टी घर भएका ४५ वर्षीय गौरी पण्डित रहेका छन्। पण्डित नेपाल विद्युत प्राधिकरणको गौशाला वितरण केन्द्र अन्तर्गत बर्दिवास फ्यूज शाखामा ज्यालादारीमा कार्यरत थिए।

शनिबार बर्दिबास नगरपालिका वडा नम्बर १ मा विद्युत लाईन मर्मत गर्न पोलमा चढेकोमा करेन्ट लागेपछि उनलाई उपचारको लागि बर्दिबास जनसेवा अस्पताल पुर्‍याइएको थियो। तर त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि जनकपुर पठाइएकोमा जानकी केयर हस्पिटलमा उपचारकै क्रममा उनको मृत्यु भएको गौशाला वितरण केन्द्रले जनाएको छ।

उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–२ खैजनपुरमा धानमा पानी लगाउनका लागि मोटर सञ्चालन गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार यसरी करेन्ट लागेर मृत्यु हुने महिला त्रियुगा नगरपालिका–२ खैजनपुरकी ३८ वर्षीया रीता बुढाथोकी रहेकी छन् ।

शुक्रबार बेलुकी ४ः०० बजेतिर धानखेतमा पानी लगाउन मोटर चलाउँदा तत्कालै बुढाथोकीलाई करेन्ट लागेको थियो । करेन्ट लागेर बेहोस भई भुइँमा ढेलकी बुढाथोकीलाई उपचारका लागि जिल्ला अस्पतालमा ल्याई उपचार गर्ने क्रममा मृत्यु भएको उदयपुरका प्रहरी प्रमुख भीमप्रसाद दाहालले बताए ।

बुढाथोकीको करेन्टले शरीरका भित्री र बाहिर अङ्ग जलेर कालो भएको थियो । मृतक बुढाथोकीको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको प्रहरीले बताएको छ ।