हुम्ला जिल्लाको सिमकोट गाउँपालिकाको वडा नं १ र २ मा पर्ने ठेहे गाउँमा महिलाहरूले जुवातास बन्द गराएका छन्। जथाभावी जुवातास खेल्दा गाउँमा विकृति तथा विसंगति फैलिएको भन्दै गाउँभरि जुवातास बन्द गरिएको हो।
स्थानीय लोग भण्डारीका अनुसार तास खेल्नेलाई पहिलो पटक एक हजार जरिवाना गरिने भएको छ भने यो काम दोहोरिए थप जरिवाना गरिने छ। गाउँका महिलाहरू मिलेर लालपुरी भण्डारीको अध्यक्षतामा जुवातास बन्द अभियान समूह गठन गरेका छन्।
यो समूहले गाउँघरमा जुवातास खेलेकाे पाइएमा पहिलो एक हजार रुपैयाँ जरिवाना गर्ने र त्यसपछि पनि जवातास खेलेको पाइए जुवाडेको साथमा पाइएको नगद नियन्त्रणमा लिने र अझ कडा जरिवाना गर्ने उक्त समूहकी सचिव नानी भण्डारीले बताइन्।
कोरोना महामारीले लकडाउनका समयमा बाहिरबाट गाउँ फर्किँदा मानिसहरूको संख्या बढेको, विद्यालय बन्द रहेको र खेतीपातीको काम सकिएकाले गाउँमा जुवातास तथा रक्सी सेवन बढेका कारण झैझगडा बढ्न थालेपछि स्थानीय महिलाहरू मिलेर यो अभियान सञ्चालन उनीहरुले बताएका छन्।
ठेहे गाउँको जुवातास बन्द अभियान समूहले हरेक दिन गाउँमा कसैले जुवातास खेलेको छ कि छैन भनेर अनुगमन गर्न दुईजना महिलालाई जिम्मा दिएको छ। उनीहरूले गाउँमा जुवातास खेले नखेलेका जानकारी समूहलाई दिनेछन्।