प्रधानमन्त्री ओली र रअ प्रमुखबीच भएको भेटको बचाउगर्दै राष्ट्रपति कार्यालय

राष्ट्रपति विद्यादेवी भण्डारी , फाइल फोटोः प्रदेशखबर.कम

प्रधानमन्त्री केपी शर्मा ओलीले रअका प्रमुख सामन्तकुमार गोयलसँग बुधबार राति करिब दुई घन्टासम्म गरेको भेटको राष्ट्रपति कार्यालयले बचाउ गरेको छ।

राष्ट्रपति कार्यालयका सञ्चारविज्ञ टीका प्रसाद ढकालले रअ प्रमुख गोयलको आकस्मिक नेपाल भ्रमण र प्रधानमन्त्रीसँग उनको दुई घन्टा लामो भेटको बचाउ गर्दै कूटनीतिले व्यक्तिगत आवश्यकता र राज्यको खाँचोको तनाव बुझ्नु आवश्यक रहेको र राज्यलाई कुनै हानि नपुर्‍याई उक्त तनावभित्र पस्नु आवश्यक रहेको  उल्लेख गरेका छन्।

ढकाल राष्ट्रपतिका नवनियुक्त सञ्चारविज्ञ हुन्।

उनले बिहीबार साँझ एकपछि अर्को ट्विट गर्दै प्रधानमन्त्री र रअप्रमुखबीचको भेटको औचित्य पुष्टि गर्ने प्रयास गरेका हुन्।

उनले अर्को ट्विटमा लेखेका छन्, ‘भारतसँग विकास भैरहेको पछिल्लो संवाद शृंखलालाई नहेरी आजको घटना विशेषलाई टिपेर गरिने विश्लेषण अपर्याप्त छ । दुई प्रधानमन्त्री बीचको संवाद, विकास आयोजनाको समीक्षा बैठक, बिभिन्न द्विपक्षीय संयन्त्रका बैठकको निरन्तरता चलिरहेको छ। परिणाम निस्कनुअघि अनेक तहमा वार्ता हुन्छ।’

रअ प्रमुख बुधबार विशेष बिमानबाट नेपाल आई प्रधानमन्त्री केपी शर्मा ओलीसँग राति ९ बजेदेखि ११ बजेसम्म दुई घन्टा भेटेका थिए।

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र स्थायी समिति सदस्य भीम रावललगायतले प्रधानमन्त्रीको रअ प्रमुखसँगको भेटमा कडा आपत्ति प्रकट गरेका छन्।

सञ्चारविज्ञ ढकालले अर्को ट्विटमा लेखेका छन्- भारतसँगको ‘इन्गेजमेन्ट’मा हाम्रा दुई उद्देश्य स्पष्ट छन् । पहिलो, मध्यम कालमा कालापानीबाट भारतीय सेना फिर्ता हुने। दोस्रो दीर्घकालमा नेपाल र भारतबीच सीमा समस्याको सम्पूर्ण समाधान गरी नयाँ सीमा सम्झौता गर्ने, जो सुगौली पछि भारतसँग त्यस्तो प्रकृतिको नयाँ सन्धि हुन्छ।

त्यस्तै अर्को ट्विटमा उनले लेखेका छन्, ‘अहिले समस्या समाधानका लागि वार्ताको चरण चलिरहेको छ । भारतीय पक्षसँग हरेक तहमा वार्ता गर्न र आफ्ना कुरा स्पष्टताका साथ राख्न नेपाल तयार छ। सम्पूर्ण घटनाक्रमलाई समग्रमा हेर्दा देखिने हात्ती एउटा घटनालाई मात्र छाम्दा डोरी, खम्बा वा नाङ्लाे देखिन्छ।’

उनले कुराकानीको चरणमा जुनसुकै तहमा वार्ताहरू हुनसक्ने उल्लेख गर्दै समाधान अन्ततः उच्च राजनीतिक तहबाट आउँछ भन्ने कुरामा कुनै द्विविधा नभएको र यस तथ्यलाई लुकाएर गरिने व्याख्या विश्लेषणहरू एकदमै अपर्याप्त हुने भनी प्रधानमन्त्रीको आलोचना गर्नेहरुमाथि टिप्पणी गर्दै अर्को ट्विट गरेका छन्। 

उनले अंग्रेजीमा दुई र नेपालीमा चार ट्विट गरी प्रधानमन्त्रीको भेट मुलुकको हितमा रहेको दाबी गरेका छन्।