नेपाल चिकित्सक संघले असोज २५ गते आइतबार देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड १९ का सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा पूर्ण रुपमा बहिस्कार गर्ने निर्णय गरेको छ।
चिकित्सा क्षेत्रको सुधारका लागि १९ औँ पटक अनसनमा बसेका डा.गोविन्द केसीको सत्याग्रहको २७ औँ दिन बितिसक्दा पनि उनको जीवनरक्षाका लागि सरकार गम्भीर नभएको र वार्ता, संवाद केवल औपचारिकताका लागि मात्रै सीमित गरिएको भन्दै संघले आपत्ति जनाएको हो।
डा. केसीको जीवन रक्षाका लागि नेपाल चिकित्सक संघले सहजीकरणको भूमिका निर्वाह गरिरहेको व्यहोरा अवगत गराउँदै संघले बाध्यताबश स्वास्थ्य सेवा बन्द गर्न परेको उल्लेख गरेको छ। सरकारले यदि २५ गते आइतबारसम्म पनि सत्याग्रहको अन्त्य गर्न कदम नचालेको अवस्थामा यो आन्दोलन अझै कडा रुपमा लैजाने चेतावनी पनि संघले दिएको छ।











