२७ औँ दिनदेखि अनशनरत डा. गोविन्द केसीलाई बिना कुनै शर्त अनसन तोड्न सरकारी वार्ता टोलीले अनुरोध गरेको छ।शनिबार विज्ञप्ति जारी गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट गठित वार्ता टोलीका संयोजक गोपी मैनालीले केसीलाई अनसन स्थगित गर्न अनुरोध गरेका हुन्।डाक्टर केसीले उठाएका मागप्रति संवेदनशील हुँदै २२ र २३ गते वार्ता टोलीबीच गरिएका वार्तामा विषयवस्तुहरू प्रष्ट गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।विज्ञप्तिमा भनिएकै छ, ‘सरकार गुणस्तरीय चिकित्सा शिक्षाको विस्तार तथा स्वास्थ्य सेवा प्रवाहमा प्रतिवद्ध रहेको व्यहोरा अनुरोध गर्दै कोभिड–१९ को विश्वव्यापी महामारीले मुलुक आक्रान्त भएको अवस्थामा परिस्थितिलाई मनन एवम् आत्मसाथ गर्दै अनसन अन्त्य गरिदिनुहुन प्रा. डा. गोविन्द केसीलाई वार्ता समिति विनम्रतापूर्ण हार्दिक अनुरोध गर्दछ।’यस्तै वार्ता टोलीले केसीले उठाएका माग र विषयवस्तुहरू सबै कार्यान्वयनको चरणमा रहेको रहेको दाबी गरेको छ।केसीले ६ बुँदे माग राख्दै जुम्लाबाट १९ औँ अनशन सुरु गरेका थिए। शनिबार उनको अनशनको २७ औँ दिन हो।










