पछिल्लो २४ घण्टामा अमेरिकामा दुई हजार भन्दा बढीको मृत्यु, इटालीलाई उछिन्दै अमेरिका

आयरल्याण्डको डल्विनमा रहेको सेन्ट म्यारी एन्जल चर्चमा विश्वभर फैलिएको कोरोना संक्रमणबाट जोगाउन बन्द गरिनुसाथै भाइरस मार्नका लागि स्प्रे गरिंदै ।

अमेरिकी अधिकारीहरुले कोरोना भाइरसको महामारीले स्थिर रुप लिएको र अब केही दिनमा ओरालो लाग्ने बताइरहेका बेला शुक्रवार मात्रै एकै दिन दुई हजार भन्दा बढीको मृत्यु भएको डेली मेलले समाचार लेखेको छ । अखवारका अनुसार पछिल्लो २४ घण्टामा अमेरिकामा दुई हजार ४३ जनाको मृत्यु भएको अधिकारीहरुलाई उद्धतगर्दै जनाएको छ । सबैभन्दा धेरै न्यूयोर्कमा ७७७ तथा न्यू जर्सीमा २३२ र मिसिगनमा २०५ जनाको मृत्यु भएको छ ।

अमेरिकामा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या १८ हजार ७२५ पुगेको छ। यस्तै संक्रमितको कुल संख्या अमेरिकामा पाँच लाख दुई हजार भन्दा बढी पुगेको छ । अहिलेसम्म २७ हजार ३१४ जना निको भएर घर फर्किएका छन् ।

विश्वभर अहिलेसम्म एक लाख दुई हजार ६८८ जनाको कोभिड–१९ बाट ज्यान गएको छ । यस्तै संक्रमितको संख्या १६ लाख ९७ हजार ५९६ पुगेको छ । अहिलेसम्म विश्वभर तीन लाख ७६ हजार १०९ जनामा कोरोना भाइरसको संक्रमण निको भएको छ ।

मृत्यु हुनेको संख्यामा अहिलेसम्म इटाली पहिलो नम्बरमा छ । तर अमेरिकामा इटालीमा भन्दा धेरैको मृत्यु हुने अनुमान गरिएको छ ।

अहिलेसम्म इटालीमा कोभिड–१९ बाट १८ हजार ८४९ तथा स्पेनमा १६ हजार ८१ जनाको मृत्यु भएको छ।

यस्तै फ्रान्समा १३ हजार १९७, बेलायतमा ८ हजार ९५८, इरानमा चार हजार २३२, जर्मनीमा दुई हजार ७६७, नेदरल्याण्डमा दुई हजार ५११, टर्कीमा एक हजार ६, स्वीट्जरल्याण्डमा एक हजार दुई तथा ब्राजिलमा एक हजार ६८ जनाको मृत्यु भएको छ ।