न्यायाधीशहरुमा कोरोना संक्रमण देखिएपछि सर्वाेच्च अदालतमा मुद्दाको सुनुवाई प्रभावित

काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या व्यापक रुपमा बढ्न थालेपछि सर्वोच्च अदालतको मुद्दा सुनुवाई प्रभावित भएको छ।

यसअघि दैनिक १० देखि ११ वटा इजलासमा मुद्दा सुनुवाई हुँदै आए पनि आइतबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलास मात्रै गठन भएको छ।

सर्वोच्च अदालतका मुद्दा महाशाखा प्रमुख बाबुराम दाहालले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै इजलासको संख्या घटाइएको जानकारी दिए। उनका अनुसार आइतबार बन्दीप्रत्यक्षिकरणको निवेदनमा समेत सुनुवाइ हुने छैन ।

काठमाडौँ उपत्यकामा शनिबार मात्रै ११ सय ७७ जनामा संक्रमण पुष्टि भएको थियो।

सर्वोच्च अदालतले  सूचना जारी गर्दै न्यायाधीशहरु लगायत केही अधिकृत र कर्मचारीहरुमा कोरोना संक्रमण देखिएको जानकारी दिएको छ।

‘यस अदालतका माननीय न्यायाधीश ज्यू लगायत केही अधिकृत र कर्मचारीहरु कोरोना भाइरसबाट संक्रमित हुनुभएको र संक्रमित एवम् त्यसबाट प्रभावित माननीय न्यायाधीश ज्यूहरु तथा कर्मचारीहरु होम क्वारेन्टिन–सेल्फ–आइसोलेसनमा रहनुभएको ब्यहोरा सम्बन्धित सबैमा सूचित गरिएको छ’, सर्वोच्चको सूचनामा उल्लेख छ।