कञ्चनपुरकी एक सुत्केरीको बाँकेको कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको छ। गर्भवती हुँदा नै निरन्तर रक्तश्राव भइरहेकी २९ वर्षीया महिलाले जुम्ल्याहा बच्चा जन्माएकी थिइन्।
बच्चा जन्माएपछि पनि रक्तश्राव नरोकिएपछि उनलाई कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको थियो।
सेती अस्पतालमै बच्चा जन्माएकी महिलाको अशाेज १४ गते पीसीआर जाँच गरिएको थियो । जसको रिपोर्ट पोजिटिभ आएको थियो । कञ्चनपुरको महेन्द्रनगर निवासी महिलालाई १५ गते कोहलपुरमा ल्याइएको थियो।
कोहलपुरमा ल्याउँदा महिला बेहोस थिइन्। उनको आइतबार बिहान ४ः३० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए।
उनका अनुसार, बाहिरी जिल्लाबाट उपचार गराउन आउँदा बाँकेका मृत्यु हुनेको संख्या ९ पुगेको छ। यसैबीच, आइतबार बाँकेमा १८ जना डिस्चार्ज भएका छन्। अशाेज ४ गते कोरोना पुष्टि भएका उनीहरु आइतबार डिस्चार्ज भएका हुन्।