जनकपुर: धनुषामा अप्राकृतिक मैथुन गरी सालोको हत्या गरेको आरोपमा भिनाजुलाई प्रहरीले पक्राउ गरेको छ।
धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ७ किशानपुर बस्ने रामेश्वर सदाका ५ वर्षीय छोरा रुपेश सदाको अप्राकृतिक करणी गरी हत्या गर्ने सबैला नगरपालिका वडा नं. ७ मठिहन बस्ने २२ वर्षीय भिनाजु रामबहादुर सदा पक्राउ परेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए।
बिहीबार दिउँसो करिब १२ बजेदेखि हराएपश्चात खोजतलास गर्दा शुक्रवार दिउँसो करिब डेढ बजेको समयमा किशानपुरस्थित कृषि ईट्टा उद्योगको परिसरभित्र रहेको वर्षातको पानी जमेको खाल्डोको डिलमा पात पतिङगरले छोपिएको अवस्थामा पाँच वर्षीय बालकको शव फेला परेको थियो।
घटना पश्चात इलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक र जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षकको कमाण्डमा खटेको टोलीले मृतकको शवको मुचुल्का लगायतका प्रारम्भिक अनुसन्धानमा घटनामा संलग्न २२ वर्षीय भिनाजुलाई नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता मिश्रले बताए।
प्रारम्भिक अनुसन्धानमा भिनाजु रामबहादुर सदाले सालो नाता पर्ने रुपेश सदालाई विस्कुट, चकलेटको प्रलोभन देखाइ माछा मार्न भनेर साथमा लगेर बालकलाई अप्राकृतिक करणी गरिरहेको अवस्थामा बालक बेहोस भएपछि रामबहादुरले बालकले लगाएको कन्दनीले घाँटी कसी हत्या गरेको प्रवक्ता मिश्रले बताए।










