पत्रपत्रिका: देशभरका जेलमा ज्यादती, कोरोनाले ८ जनाको ज्यान गयो

देशभरका कारागारको क्षमता १६ हजार कैदीबन्दी अटाउने हो, तर अहिले कोचाकोच गरेर २४ हजार सात सय ७३ जना राखिएका छन् । भिडका कारण कतिपय कारागारमा कैदीबन्दीले सुत्नसमेत पालो कुर्नुपर्छ । सामान्य अवस्थामा त उनीहरू जसोतसो बसेकै थिए, तर कारागारभित्रै कोरोना संक्रमण देखिएपछि भने त्रास बढेको छ । 

कारागार व्यवस्थापन विभागका महानिर्देशक द्रोण पोखरेलका अनुसार अहिलेसम्म १५ कारागारका सात सय ५३ कैदीबन्दीमा संक्रमण देखिइसकेको छ । आठजनाले त ज्यान नै गुमाइसकेका छन् । संक्रमितमध्ये एक सय ८४ जना भने निको भएका छन् । नियन्त्रण र रोकथामका लागि राज्यले चासो नदिँदा कारागारहरू संक्रमणको ‘हटस्पट’ बन्दै छन् । किनभने संक्रमण देखिएका कारागारका सबै कैदीबन्दीको समेत परीक्षण गरिएको छैन । धेरै कारागारमा कैदीबन्दीलाई मास्क, स्यानिटाइजर, साबुनलगायतका सुरक्षा सामग्री पनि दिइएको छैन । ठेलमठेलमा बसिरहेका उनीहरूले भौतिक दूरी कायम गरेर संक्रमणबाट जोगिने कुरा कल्पना मात्रै हुन्छ ।

भद्रपुरलगायत केही कारागारका कैदीबन्दीमा ज्वरो, रुघाखोकी, टाउको दुख्नेलगायत लक्षण देखिँदा पनि कोरोना परीक्षण गरिएको छैन । संक्रमण हुने डरभन्दा पनि उपचार नै नपाएर मरिन्छ कि भन्ने त्रास अझ धेरै छ उनीहरूमा । 

आफूहरूको स्वास्थ्यप्रति राज्यले चासो नै नदिएको उनीहरूको आरोप छ । ‘सबै नागरिकलाई बाँच्न पाउने हक हुन्छ । स्वास्थ्य त संविधानको मौलिक हकमै छ होइन र ?’ भद्रपुर कारागारका कैदी युवराज गिरीले भने, ‘कोरोनाले हामी कैदीबन्दी मर्ने भयौँ, हाम्रो जीवन रक्षा गरिदेऊ सरकार !’ 

गिरीका अनुसार कारागारका सात कैदीबन्दीमा संक्रमण देखिएपछि दुई सयजनालाई ज्वरो, रुघाखोकी, टाउको दुख्ने समस्या देखिएको छ । तर, कारागार प्रशासनले अहिलेसम्म १७ जनाको मात्रै पिसिआर परीक्षण गराएको छ । अहिले सबै संक्रमित निको भइसकेका छन् ।

सबैभन्दा भद्रगोल त सिराहा कारागारको अवस्था छ । पाँच सय ८७ कैन्दीबन्दीमध्ये पाँच सय १८ जनामा संक्रमण देखिएको छ । उनीहरूमध्ये ३२ जना निको भइसकेका छन् । सबै संक्रमितलाई कारागारभित्रै राखिएको छ । बरु, संक्रमण नभएकालाई भने आइसोलेसनमा राखिएको छ । 

तीन हजारभन्दा धेरै कैदीबन्दी रहेको काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागारमा पनि करिब पाँच सयको मात्र परीक्षण भएको छ । गत महिना एकैपटक धेरैमा रुघाखोकी तथा ज्वरोको समस्या देखिएपछि केहीको मात्र परीक्षण गरिएको थियो । 

कारागारहरूमा संक्रमण बढ्न थालेपछि राष्ट्रिय मानव अधिकार आयोगले ‘दु्रत अनुगमन’ थालेको छ । धेरै कारागारमा पूर्वतयारी नभएकाले संक्रमण फैलने जोखिम उच्च रहेको आयोगका सदस्य सुदीप पाठकले बताए । ‘परेपछि गरौँला भनेर धेरै कारागारमा केही पनि तयारी नगरेको पाइयो,’ अनुगमनकै क्रममा जिल्लामा रहेका पाठकले भने, ‘कुनै विशेष व्यवस्था नभएकाले सबै जेलहरूमा उच्च जोखिम देखियो ।’ 

पाठक नेतृत्वको टोलीले इलाम, झापा, मोरङ, सुनसरी, सिराहा, रौतहट, पर्सा, रुपन्देही, बाँके, कैलाली, सुर्खेत, कञ्चनपुर र जुम्ला गरी १३ कारागारको अनुगमन गरिसकेको छ । धेरै कारागारमा आइसोलेसन तथा क्वारेन्टिन नबनाएको, स्वास्थ्य मापदण्ड लागू नगरिएको तथा भवनहरूसमेत जीर्ण रहेको आयोगले जनाएको छ । त्यस्तै, निर्देशक यज्ञ अधिकारीको टोलीले मकवानपुर, धादिङ र चितवनका कारागारमा अनुगमन सकेको छ । -आजको नयाँ पत्रिकाले समाचार लेखेको छ ।