बाबा, हजुर पहाड भन्दा गह्रौं मृत्यु रोजेर महान् हुनु भयो तर हामीलाई चाहिं टुहुरो बनाएर जानुभयो

क्षितिज श्रेष्ठ (मनोज): बाबा ! कति प्यारो छ है यो शब्द । शब्द मात्रै हैन साँच्चै महान् मानब हुन् जो कसैको बाबा । महान् हृदय, महान् आत्मा, महान् अठोट, महान् संकल्प, आदर्श पात्र हुन् बाबा। मेरो बाबा पनि त्यस्तै महान् हुनु हुन्थ्यो । म अनि मेरा भाई र बहिनीको निमित्त। तर, अब ती सबै कुरा एकादेशको कथा जस्तै बनिसका छन् । आज मैले अनि मेरो आमा, भाइ, बहिनीले हजुरलाई गुमाएको पनि २२ बर्ष पुगिसकेछ।

बाबा, हजुर पहाड भन्दा गह्रौं मृत्यु रोजेर महान् हुनु भयो तर हामीलाई चाहिं टुहुरो बनाएर जानुभयो । लाग्थ्यो हजुरको त्यो महान् बलिदानीको कुनै दिन कदर होला भन्ने । तर आजसम्म २२ बर्ष भयो बाबा त्यो कदरलाई कुरेको। थाहा छैन बाबा, अझै कत्ति बढी कुर्न पर्ने हो त्यो कदरतालाई।

बाबा मलाई अझै पनि याद छ त्यो रात, हजुर भूमिगत भएर पहिलो चोटी दोभानटारको त्यो घरमा भेट्न आउनुभएको । सायद हजुर भूमिगत भए पछाडी १ बर्ष जतिमा त्यो भेट भएको थियो हजुरको र मेरो। पछि म र ममीसंग (भाइ बहिनी सुतिरहेका थिए) छुटेर हिँड्ने बेला म धेरै रोको थिएँ । म रोएको देखेर तपाईंको पनि आखामा आँशु आएको थियो। म हजुरलाई मलाई छोडेर नजानुस् बाबा भन्दै थिएँ, हजुरलाई अँगालो हालेर रुँदै थिएँ तर त्यतिबेला हजुरले मलाई भन्नुभएको त्यो वाक्य अझै पनि कानमा गुञ्जिन्छ, ‘बाबु नरोएस छोरा, म तँ जस्तै हजारौं छोराहरुको सुनौलो भबिष्य अनि धनि गरीब बिचको त्यो गहिरो खाडल भत्काएर समानता ल्याउन हिंडेको योद्धा हुँ । म हिड्ने बेलामा रोएर हैन खुशी भएर बिदा गर, तँ पनि एउटा महान् छोरा हुनु पर्छ’ भनेर मलाई धेरै बेर अंगालोमा राखेर हिंड्नु भएको थियो।

हजुरको प्यारो डा. बाबुराम दाइ, देशकै प्रधानमन्त्री भैसक्नु भयो। हजुरसंगै नेपाली जनयुद्धलाई सैन्य क्षेत्रमा अगाडी लग्न भनेर भारतमा पिपल्स वारको तालिममा जानु भएको हजुरको प्यारो मित्र नन्द किशोर पुन ‘पासाङ’ ज्यु अहिले उपराष्ट्रपति हुनुहुन्छ। हजुरको प्यारो सित्तल दाइ, (हरिबोल अङ्कल) पनि मन्त्री भैसक्नु भयो। हजुरकै प्यारो दाइ, राम कार्की (सुरेन्द्र कार्की) अङ्कल पनि मन्त्री भैसक्नु भयो। टोप बहादुर रायमाझी अङ्कल पनि मन्त्री भैसक्नु भयो, राम बहादुर थापा ‘बादल’ अहिले मन्त्रि नै हुनुहुन्छ । हजुरको प्यारो मित्र बर्षमान पुन ‘अनन्त’ अङ्कल पनि मन्त्री नै हुनुहुन्छ । हजुरको परम हितैषी मित्र गङ्गा अङ्कल पनि प्रधानममन्त्री कार्यालयको मुख्य स्वकीय सचिव भैसक्नु भयो।

बाबा अहिले हजुर रहनु भएको भए साँच्चै म यो प्रश्न हजुरलाई गर्ने थिएँ, के साँच्चै म जस्ता हजारौं छोरा छोरीहरुको भबिष्य सुनौलो भयो त बाबा ? के ती धनी र गरीब बिचको गहिरो खाडल पुरियो त बाबा ? तर थाहा छ यो उत्तर हजुरबाट पाउन सक्दिन। सायद यो प्रश्नको उत्तर त अहिलेका हजुरका मित्रबाट पाउनु पर्ने हो । तर असम्भब छ बाबा। हजुरका मित्रहरु, अहिलेका नेताहरु आफ्नै सन्तानका मात्र भबिष्य कोर्दै छन्, आफ्नै सम्पतिलाई मात्र खाडलमा पुरेर भविष्यमा आफ्ना नाति, पनातिको पनि भबिष्य सुनिस्चित गर्दै छन्। अनि सोच्छु हजुरको सपना पनि अब पुरा हुन्नन् जस्तो लाग्दछ । यसो भन्दै गर्दा मलाई ठुलो आरोप पनि लाग्न सक्छ । फलानाको छोरोले ठुलो कुरा गर्यो । तेस्कै छोरोले त्यसको बाउको सपना पुरा गरे भैहाल्यो नि भन्न पनि सक्छन् हजुरका मित्रहरुले । यस्तो गैरजिम्मेवारी अभिव्यक्ति पनि म माथि आउन सक्छ। बाबा, मैले भनेको बुझ्नु भयो नि । अहिले म अनि हाम्रो परिवार जीबनको कस्तो राजनीतिक मोडबाट गुज्रिरहेको छौं।

बाबा अहिले पनि हामी हजुरले देखाउनु भएको बाटोबाट बिचलित भएका छैनौ । हामी अझै पनि हजुरले देखाएको बाटो मै हिंडिरहेको छौं।

बाबा एउटा कुरा हजुरलाई थाहा नहुन सक्छ, हजुरसंगै त्यो महान् यात्रामा लामबद्ध भएर हिंड्नु भएका अनि जो जीवित हुनुहुन्छ नि, हजुरका मित्रहरु, उहाँहरु सबै अहिले देशका अनि आफ्ना आफ्ना पार्टीका प्रमुख ओहदामा आसिन हुनुहुन्छ। हजुरको प्यारो डा. बाबुराम दाइ, देशकै प्रधानमन्त्री भैसक्नु भयो। हजुरसंगै नेपाली जनयुद्धलाई सैन्य क्षेत्रमा अगाडी लग्न भनेर भारतमा पिपल्स वारको तालिममा जानु भएको हजुरको प्यारो मित्र नन्द किशोर पुन ‘पासाङ’ ज्यु अहिले उपराष्ट्रपति हुनुहुन्छ। हजुरको प्यारो सित्तल दाइ, (हरिबोल अङ्कल) पनि मन्त्री भैसक्नु भयो। हजुरकै प्यारो दाइ, राम कार्की (सुरेन्द्र कार्की) अङ्कल पनि मन्त्री भैसक्नु भयो।

टोप बहादुर रायमाझी अङ्कल पनि मन्त्री भैसक्नु भयो, राम बहादुर थापा ‘बादल’ अहिले मन्त्रि नै हुनुहुन्छ । हजुरको प्यारो मित्र बर्षमान पुन ‘अनन्त’ अङ्कल पनि मन्त्री नै हुनुहुन्छ । हजुरको परम हितैषी मित्र गङ्गा अङ्कल पनि प्रधानममन्त्री कार्यालयको मुख्य स्वकीय सचिव भैसक्नु भयो। हजुरका कैयन मित्रहरु देशको सर्बोच्च ओहदामा पुगिसक्नु भयो र पुग्ने क्रममा अझै हुनुहुन्छ । कयौं साथीह सांसद, मन्त्रि हुनुहुन्छ। तर बाबा खोइ हजुरका ती महान् सपनाहरुको भित्र भित्रै के खिचडी पाक्दैछ त्यो चाहिं अझै थाहा पाउन सकेको छुइन।

कतै ती सपनाहरु तुहिएर जाने त हैनन्, ती सपनाहरु तुहाइने त हैन ? म कहिले काहीं भेट हुँदा हजुरका मित्रहरुसंग यो प्रश्न हरेक पटक राख्छु, तर उत्तर जहिले पनि एकै खालको पाउँछु, ‘हामी त्यो महान् यात्राबाट बिचलित छैनौं’। थाहा छ बाबा, यो उत्तर पाउन थालेको नि २२ बर्ष पुगिसक्यो।

बाबा हजुर त एउटा उज्ज्वल तारा बनेर ती महान् सहिदहरुसंगै लामबद्ध भएर त्यो आकाशमा चम्किरहनु भएको छ। सधैं यसरी नै चम्किरहनु होला ताकी हामी धर्तीमा बाँच्नेहरुले त्यही ताराका प्रकाशहरुमा तपाईंहरुलाई देख्न पाउँ, तपाईंका सपनाले झकझक्याइ रहोस्। सम्मान र सलाम बाबालाई, हजुरले देखाएको बाटोबाट कहिल्यै बिचलित छैन म। बाबा हजुर सधैं अमर रहनुहोस्, हामी सधैं हजुरको अमरत्वको निमित्त लादिरहनेछौँ।

बाबा, एउटा अन्तिम बिन्ति, यो जुनीमा त बिचैमा छोडेर जानु भयो, तर अर्को जुनीमा यसो नगर्नु होला ल। बाबा यो जुनी मात्र हैन जुनी जुनी मलाई हजुरकै छोरा भएर जन्मन मन छ।

देशका सम्पूर्ण सहिदहरुमा उच्च सम्मानका साथै सलाम !!
महान सहिदहरु अमर रहुन !!
सहिदका सपनाहरुलाई मर्न नदिउँ, सधैं ती सपनाहरुको सम्मान गरौँ र पूरा गर्न लागि परौ। साभारः झिल्को डटकम