भारतको राजधानी दिल्लीमा गएको फेब्रुअरीमा भएको दंगाको मामिलामा पक्राउ परेका जवाहरलाल नेहरु विश्वविद्यालयका पूर्व छात्र उमर खालिदलाई १० दिनका लागि प्रहरी हिरासतमा पठाइएको छ ।
सोमबार भिडियो कन्फ्रेन्सिङ्ग मार्फत खालिदको पेशी भएको थियो । अदालतले खालिदलाई १० दिन हिरासतमा राख्न अनुमति दिएको हो । प्रहरीले अदालतसँग १० दिनको समय मागेको थियो ।
दिल्लीको उत्तर–पूर्वी क्षेत्रमा भएको दंगाको विषयलाई लिएर जवाहरलाल नेहरु विश्वविद्यालयका पूर्व छात्र नेता तथा ‘युनाइटेड अगेन्स्ट हेट’ संस्थाका सह–संस्थापक उमर खालिदलाई आइतबार राति दिल्ली प्रहरीको स्पेशल सेलले पक्राउ गरेको थियो ।
खालिदका पिता सैय्यद कासिम रसूल इलियासले पक्राउको जानकारी दिएका थिए । ३३ वर्षे खालिदलाई दिल्ली दंगाको विषयमा फसाइएको पिताले बताएका छन् ।

सिएएको विरोधमा भएको प्रदर्शनलाई दिल्ली प्रहरीले आपराधीकरण गर्ने कोशिश गरेको युनाइटेड अगेन्स्ट हेटले जनाएको छ । सिएए तथा गैरकानूनी गतिविधि रोकथाक नियम (युएपीए) विरुद्धको लडाईँ भने जारी रहने संस्थाले जनाएको छ । उमर खालिदको सुरक्षा कुनै पनि हालतमा सुनिश्चित गर्न संस्थाले माग गरेको छ ।
कलाकार, इतिहासकार, शिक्षक तथा सामाजिक कार्यकर्ताले वक्तव्य जारी गरेर खालिदको गिरफ्तारीको निन्दा गर्दै तत्काल रिहा गर्न माग गरेका छन् ।
इतिहासकार रामचन्द्र गुहा, कलाकार टीएम कृष्णा, लेखक अरुणधति रोय, प्रशान्त भूषण, पी साइनाथ, बृन्दा करात, हर्ष मन्दर, फराह नकवीसहितका तीन दर्जन व्यक्तिले रिहाइको माग गरेका हुन् ।
खालिदको पक्षमा मानिसहरु उत्रिएका छन् र गिरफ्तारीको विरोध भइरहेको छ । ट्वीटरमा #standWithUmarKhalid ट्रेन्डिङ्गमा पनि छ ।











