
आइतवार एक दिनको अवधिमा विश्वभरि अहिलेसम्मकै सर्वाधिक सङ्ख्यामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको तथ्याङ्क विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले सार्वजनिक गरेको छ।
चौबीस घण्टाको अवधिमा संसारभरि ३,७९,९३० जनामा सङ्क्रमण देखिएको उसको भनाइ छ।
सो अवधिमा ५,५०० जनाको मृत्यु भएको र संसारभरि मृत्यु हुनेको सङ्ख्या ९१७,४१७ पुगेको डब्ल्यूएचओले बताएको छ।
भारत, अमेरिका र ब्रजिलमा सबैभन्दा बढी सङ्क्रमित थपिएका हुन्।
अहिलेसम्म विश्वभरि दुई करोड ८० लाखभन्दा बढी मानिसमा कोभिड-१९ देखिएको छ। तीमध्ये आधा अमेरिकी महादेशमा छन्।
यसअघि सेप्टेम्बर ६ मा ३,०६,८५७ सङ्क्रमित थपिएका थिए।
सबैभन्दा बढी सङ्क्रमित कहाँ छन्?
डब्ल्यूएचओका अनुसार आइतवार भारतमा ९४,३७२ जना, अमेरिकामा ४५,५२३ जना र ब्रजिलमा ४३,७१८ जना सङ्क्रमित थपिएका थिए।
अमेरिका र भारतमा १,००० भन्दा बढी मानिसको कोभिड-१९ सम्बन्धी रोगबाट मृत्यु भएको थियो भने ब्रजिलमा ८७४ जनाको मृत्यु भएको थियो।
भारतमा अमेरिकापछि सबैभन्दा बढी सङ्क्रमित रहेका छन्।
गत साता भारतले अगस्ट एक महिनामा मात्रै त्यहाँ २० लाख सङ्क्रमित थपिएको बताएको थियो जुन महामारी सुरु भएयता एउटै देशमा एक महिनामा भएको सबैभन्दा बढी सङ्क्रमण हो।
अगस्टमा भारतमा दैनिक औसत ६४,००० सङ्क्रमित थपिएका थिए। उक्त सङ्ख्या जुलाईको भन्दा ८४ प्रतिशतले बढी थियो।

ब्रजिलमा ४० लाखभन्दा बढी सङ्क्रमित छन् र त्यहाँ अहिलेसम्म १,३१,००० भन्दा बढी मानिसको मृत्यु भएको छ।
अमेरिकामा संसारका सङ्क्रमितमध्ये झन्डै एकचौथाइ छन्।
जुलाई महिनायता भने त्यहाँ दैनिक वृद्धि हुने सङ्क्रमित सङ्ख्या घट्दो क्रममा रहेको छ।
अमेरिकामा अहिलेसम्म १,९४,००० भन्दा बढीको मृत्यु भइसकेको छ।










