सिरहाको गोलबजार नगरपालिकास्थित मारुती सिमेन्ट उद्योगले सार्वजनिक जग्गा अतिक्रमण गरेको छ । सुकुम्बासी समस्या समाधान आयोगका सदस्यले सार्वजनिक जग्गा निजीकरण गरी मारुती सिमेन्ट उद्योगका सञ्चालकको नाममा बिक्री गरेको पाइएपछि स्थानीयहरु सिमेन्ट उद्योग बिरुद्ध संघर्षमा उत्रिएका छन् ।
आयोगका सदस्यहरुले सिरहाको गोलबजार नगरपालिका र नरहा गाउँपालिकामा पर्ने करिब साढे तीन बिघा सार्वजनिक जग्गा आफ्ना आफन्तको नाममा दर्ता गराएको र त्यसपछि सिमेन्ट उद्योगका सञ्चालकलाई बिक्री गरेको पाइएको छ । सिरहाको चन्द्रउदयपुर ८ (क) को साबिक कित्ता नम्बर २००, २०२ र २०५ लगायतको १२ वटा कित्तामा कायम रहेको सो जग्गा मारुती सिमेन्ट उद्योगका सञ्चालक मनोज गोयल र अनुज राँठीको नाममा दर्ता रहेको स्थानीयको भनाइ छ । सामुदायिक वन क्षेत्रको सार्वजनिक जग्गा भएको थाहा हुँदाहुँदै पनि आयोगका सदस्यहरुले सार्वजनिक जग्गा निजीकरण गरी मारुती सिमेन्टका सञ्चालकसँग उक्त जग्गा बेचेको स्थानीयको अरोप छ । आर्थिक चलखेल र शक्तिको आडमा मापदण्ड र प्रावधान विपरीत मारुती सिमेन्ट उद्योग सञ्चालन हुँदै आएको भन्दै स्थानीयहरुले मारुती सिमेन्ट उद्योग बिरुद्ध आन्दोलन शुरु गरेका छन् ।
मारुती सिमेन्टले बिभिन्न दलका नेता तथा शक्तिको आडमा सामुदायिक वन अतिक्रमण गर्ने र अबैध रुपमा गर्ने उत्खनन रोक्न डिभिजन वन कार्यालयले प्रयास गर्दा समेत कुनै उपलब्धि नभएपछि यतिबेला स्थानीयहरु पनि उद्योग बिरुद्ध संघर्षमा उत्रेका छन् । मारुती सिमेन्ट उद्योगको अतिक्रमण विरुद्ध गठित संघर्ष समितिको अगुवाईमा स्थानीयहरुले उद्योग बिरुद्ध संघर्ष शुरु गरेका छन् ।
संघर्ष समितिको अगुवाईमा सयौंको संख्यामा सहभागी प्रदर्शनकारीहरुले प्लेकार्डसहित उद्योगविरुद्ध चर्को नाराबाजी गरेका छन् । ‘सार्वजनिक जग्गा फिर्ता गर, धुवाँ धुलो बन्द गर, रोजगारीमा स्थानीयलाई प्राथमिकता दे’ लगायतका नारासहित स्थानीयहरुले प्रदर्शन गरेका छन् । जग्गा अतिक्रमण मात्रै नभई सिमेन्ट उद्योगबाट निस्कने प्रदुषित धुवाँले आसपासका बस्ती पनि जोखिममा परेको स्थानीयवासीको भनाई छ ।
मारुती सिमेन्ट उद्योग परिसरमै रहेको शारदा डिष्टिलरीले घुर्मी खोलाबाट बगाउँदै आएको विषादीयुक्त पानीले पनि यहाँका सर्वसाधारणको स्वास्थ्यमा विभिन्न किसिमको समस्या देखिनुका साथै अन्नबालीमा पनि गम्भीर क्षति हुँदै आएको छ । मारुती सिमेन्ट र शारदा डिष्टिलरीको मनोमानीका कारण गोलबजार नगरपालिका, मिर्चैया नगरपालिका र नरहा गाउँपालिकासहित घुर्मी नदीको छेउमा रहेका दर्जनौं गाउँका लाखौं जनता प्रत्यक्ष रुपमा प्रभावित छन् । यहाँका स्थानीयहरुले जग्गा अतिक्रमण तथा प्रदुषण रोक्न निरन्तर रुपमा आवाज उठाउँदै आएका छन् । तर, केही नेता तथा यहाँका जनप्रतिनिधिकै मिलेमतोमा अर्थात् शक्तिको आडमा सिमेन्ट उद्योगले वनक्षेत्रको जग्गा अतिक्रमणसँगै मनोमानी गर्दै आएको स्थानीयहरुको आरोप छ ।