सुनकोशीको खानेपानी योजनामा अनियमितता !

एनजिओले कसरी नेपाली जनतालाई ठगिरहेको छ भन्ने उदाहरणहरु प्रशस्तै पाइन्छन् । फेरी सबै एनजीओ र आइएनजीओ ठगि र धर्मप्रचारनैं गर्छन् भन्ने पनि होइन । तर सिन्धुलीमा निकै लामो समयदेखी कामगर्दै आएको नेपाल स्वास्थ्यका लागि पानी (नेवा) नामक एक गैरसरकारी संस्थाले नागरिकहरुलाई ठगी गरेको छ भन्दा पत्याउनै मुस्किल पर्न सक्छ । तर सुनकोशी गाउँपालिकामा सञ्चालन गरेको खानेपानी योजनामा गुणस्तरहिन काम गरेर ठूलो परिमाणमा अनियमिमता गरेको बिबरणहरु बाहिर आएका छन् ।
सुनकाशी ७ मा सञ्चालित खानेपानी आयोजना उपभोक्ता समितिका पदाधिकारीहरुलाई सामान खरिद तथा ढुवानीको रकम दिनुप¥यो भन्दै खाली चेकमा सही गराएर नेवाका कर्मचारीले लगे, समितिकी सचिवले भनिन् । स्थानीय वासिन्दाले गुणस्तर र अनियमितता वारे पटक पटक आउन आग्रह गरेपछि पत्रकारहरुको टोली त्यसतर्फ गएपछि स्थानीय वासिन्दाले गैर सरकारी संस्थाका नाममा भएको कर्तुतहरु बताएका थिए ।
गाउपालिकाले उपलव्ध गराएको पाइपसमेत प्रयोग गरेर अनियमिमता गरे, धोद्रे रुपाकोटका स्थानीय वासिन्दा गंगाकुमारी कार्कीले भनिन् । खैं हाम्रो घरमा धारा पनि बनाएको छैन, तर पहिला त मेरो घरमा पनि धारा बनाइदिन्छु भनेर नाँचजाँच गरेका थिए, अहिले त एउटै घरमा ३ वटा धारा बनाए, तर हाम्रोमा एउटा पनि छैन, उनले आफ्नो गुनासो यसरी पोखिन् ।
समितिका सचिव र कोषाध्यक्षलाईनैं सबै खाली चेकमा सही गराएर लगेको र किन त्यसो गरेको भनेर सोध्दा हामीलाई केही पनि थाहा छैन भन्ने जवाफ दिएको स्थानीय बासिन्दा मोहनवहादुर कार्कीले जानकारी दिए ।

खानेपानीमा अनियमितताः शुनकोशी ७ लामिटारमा निर्माण सम्पन्न भएको भनिएको धारा । फोटोः प्रदेशखबर


त्यसैगरी नेवाका कर्मचारीले अघिल्लो आर्थिक वर्षमा सुनकोशी गाउँपालिकाले उपलव्ध गराएको २३ सम मिटर पाइप पनि सोही आयोजनामा मिसाएर अनियमितता गरेको उनीहरुको आरोप छ । स्थानीयले दिएको जानकारी अनुसार सो पाइप किन्नका लागि गाउँपालिकाले २ लाख रुपैयाँ उपलव्ध गराएको थियो । त्यसैगरी नेवाका कर्मचारीहरुले धारा निर्माणका क्रममा कम्तीमा २० सेमी जग खन्नैपर्ने प्राविधिक स्टिमेटलाई कुल्चँदै १० सेमीमात्रै खनेर धारा बनाएको स्थानीयले बताएका छन् । उनीहरुका अनुसार निर्माण गरिएका धाराहरु गुणस्तरहिन हुनुका साथै पुरानो टुटी प्रयोग गरिएको धारा नं. ५ कोड न. २९३१७४४ बाट पुष्टि भएको छ ।
स्थानीय रत्नकुमारी भुजेलका अनुसार पहिला गेटवलसहित नयाँ धारा जोडे, त्यसपछि मलाई धाराको छेउमा उभिन लगाएर फोटो खिचे र पहिला राखेको धारा खोलेर अर्को जोडेर मान्छेहरु गए । मेरोमा मात्रै किन यस्तो नराम्रो धारा बनाइ दिनुभएको भन्ने आग्रहमा नेवाका कर्मचारीले भनेका थिए, हामीले बनाउने यस्तै हो, अरु कुरा गर्ने हो भने अफिसमा गएर गर्नु । फिल्ड अफिस सिन्धुलीकै मिलेमतोमा खानेपानी लागत स्टिमेट अनुसारका काम नभएको स्थानीय बताउँछन् ।
एउटै घरमा ३ वटा धारा !
खानेपानी आयोजना सम्पन्न हुन लागेको सो क्षेत्रमा रहेका तीन घरमा धारा बनेको छैन । तर नेवाका कर्मचारीलाई खुशी बनाएकै भरमा स्थानीय कालुमान गोलेको घरमा भने ३ वटा धारा निर्माण भएका छन् । बसैको घरमा एउटा पनि छैन, पहुँच भएकै कारण एकै घरमा ३ वटा धारा बनाएपछि हामीले नेवाको कामलाई कसरी बुझ्ने ? स्थानीय वासिन्दाले भने । नेवाले सञ्चालन गरेको खानेपानी आयोजनामा गुणस्तरिताका विषयमा प्रश्न उठाउने प्रशस्तै ठाउँहरु देखिएकाछन्, स्थानीय वासिन्दा इन्द्रवहादुर भण्डारीले सन्देश जनप्रियसँग भने । गोलेको घरमा १० देखी २० मिटरको दुरीमा ती धाराहरु निर्माण गरिएको देखिएको छ ।
नेवाको फिल्ड अफिस र कर्मचारीको मिलेमतोमा निर्माण सामाग्री खरिद देखी ढुवानीसम्मका कामहरु भएको र निर्माण उपभोक्ता समिति अरुलाई देखाउन मात्रै बनाए जस्तो देखिन्छ, स्थानीय वासिन्दा भन्छन् ।
कागजमा असारमै सम्पन्नः फिल्डमा अझै भएन !
करोडौं रुपैयाँको खानेपानी आयोजना सञ्चालनका लागि च्यारिटी वाटर एडले लगानी गरेको हो । उनीहरुले लगानी गरेको खानेपानी आयोजना सञ्चालनका लागि सिन्धुली जिल्लामा मात्रै ६० जना भन्दा बढी कर्मचारीहरु कार्यरत छन् । सुुनकोशीमा सञ्चालित खानेपानी आयोजना काजमा भने गत असारमैं सम्पन्न भइसकेको छ । तर फिल्डमा भने अहिलेसम्म सम्पन्न भएको छैन । आयोजना स्थलमा स्वास्थ्य सरसफाईका सचेतनामूलक कार्यक्रमका साथै विद्यालयलाई ४७ सय बरावरका सामाग्रीहरु उपलव्ध गराउने भनिएपनि त्यस क्षेत्रका विद्यालयलाई अहिलेसम्म उपलव्ध गराइएको छैन । कागजमा सम्पन्न भइसकेको भनिएका खानेपानीको काम सक्नका लागि अझै केही महिना लाग्ने देखिएको छ ।
एजजिओको काम, गाउँलेलाई श्रमदान !
गाउँमा रहेको खानेपानी समस्याबाट मुक्ति पाउन भन्दै स्थानीयले नेवाका कर्मचारीले भनेअनुसार श्रमदान गरे । त्यो पनि ७२ दिनसम्म । कोरोना संक्रमणको त्रासका बीच उनीहरुले पसिना चुहाउँदै काम गरिरहे । उनीहरुले कति रकम बरावरको श्रमदान गरे, त्यसको कुनै लेखाजोखा छैन । खानेपानी आयोजनाको लगानीकर्ता स्कट ह्यारिसनले स्थानीयलाई काममा लगाउन बन्देज गरेका छन् तर नेवाका कर्मचारीहरु जनश्रमदानका नाममा निरन्तर काममा लगाइरहेका छन् । नेवाको यो शैलीलाई स्थानीयले एनजिओको काम, गाउँलेलाई जनश्रमदान ! भन्दै टिप्पणी गर्छन् ।
काम नियम अनुसार
नेपाल स्वास्थ्यका लागि पानी(नेवा)का सिन्धुली कार्यक्रम संयोजक गणेश तिमल्सिनाले खानेपानीको काम संस्थाको नियम अनुसारनै भएको बताए । धाराको टुटी राख्ने क्रममा केहि त्रुटि भएपनि अन्य काम भने नियम अनुसारनै भएको जिकिर गरे । उनले सामुहिक धारा र व्यक्तिगत धारा निर्माणमा केहि भिन्नता रहेको भन्दै पानी थाप्नमात्रै मिल्ने धारा बनेको स्विकार गरे । धाराको विषयमा धेरै गुनासा आउँछन् तर हाम्रो संस्थाको नियमनै त्यस्तै छ उनले भने ।