म बिहानै मङ्गल बजारको संग्रहालय अगाडि रहेको ढुङ्गे धारामा पानी थाप्नेको लाइन हेरेर बसिरहेको थिएँ । पानी थाप्नेका बीचमा हानाथाप परिरहेको थियो र, लाग्थ्यो यही अबस्था निरन्तर रहने होभने २० वर्षपछि जसको हातमा शक्ति वा हतियार छ, उसैले मात्रै पानी थाप्न पाउँछन् । त्यही तमासा हेरीरहेका बेला करिव ७ः३० बजेतिर मेरो मोवाइलको घण्टी बज्यो । कहिल्यै नआउने र उपत्यका भन्दा बाहिरको ल्याण्डलाइन नम्बरबाट आएको देखेपछि मैंले फोन उठाए । सागर नाम बताउने व्यक्तिले हिजो (२० भदौ २०६१ ) बेलुका शेरमान कुँबर उर्फ बिशाल लगायतका छ जना साथीहरुलाई सेनाले सिरहा जिल्लाको धन्छवारको एक घरबाट नियन्त्रणमा लिएर हत्या गरेको बिबरण सुनाए ।
सिरहा जिल्लामा माआवोवादीका तर्फबाट अपहरण गरिएका तीन जना व्यक्तिलाई त्यसको एक महिना अगाडि मेरै आग्रहमा कुबँरले मुक्त गरिदिएको कुरा संझे । अनि सिन्धुली जिल्लामा माओवादी जनसकार घोषणा गर्दाका समयमा डाडी गुराँसे गाविसको माध्यमिक विद्यालयमा पत्रकारका हैसियतले उपस्थित भएका बेला उनले मानवअधिकारको विश्वब्यापी मान्यतालाई स्वीकार्दै उच्च सम्मान गर्नेभनि दिएको अभिव्यक्तिलाई संझन पुगें । माओवादी संघर्षको प्रारंभतिरनैं हो, उनी घरमा आएको थाहा पाएपछि प्रहरीको घेराउमा परे । तर खै कसरी पो उनले प्रहरीलाई छक्याएर घरबाट भागेछन् । त्यसपछि सिन्धुली जिल्लामा मात्रै नभएर देशभर उनको बारेमा अखवारमा लेखिएछ । शिक्षण पेशा त्यागेर माओवादी संघर्षमा सामेल भएपछि दोस्रो पटक भेट भएको थियो र त्यस बेला म मानवअधिकारकर्मीको रुपमा उभिएको थिएँ । ‘मान्छे मारिहाल्नु हुन्न, सुध्रिने मौका दिर्नुपर्छ’ भनेर बताउने व्यक्तिनैं मारिएको खबरले मलाई बिद्रोही समूहका नेता र त्यसमा पनि मानवअधिकारको मूल्य र मान्यतालाई स्वीकार गर्नुपर्छ भन्ने व्यक्ति मारिएकोमा बढी चिन्ता लाग्यो ।
त्यसको एक वर्ष अगाडिनैं हुनुपछर्, उनको १२ वर्षे छोरीलाई सिन्धुलीको भलुवाही स्थित मावली घरबाट प्रहरीले पक्राउ गरेर लग्यो र जंगलमा पु¥याइ दोहोरो भिडन्तको नाममा हत्या गर्दा कसैले पनि छानवीन नगरेको र घटनामा संलग्नहरु पहिचान गर्न पनि नसकिएको कुराले मलाई निकै पिरोल्यो । उनकै आफ्नै दाई लाई पनि प्रहरीले पक्राउ गरेर दाहोरो भिडन्तका नाममा हत्या गरेको कुरा कहिंकतै उठेन । ‘‘मानवअधिकारको विश्वव्यापी मूल्य, मान्यता र सिद्धान्त’’अनुसारका काम गरेनभने त्यो कहिल्यै पनि मानवअधिकारकर्मी बन्न सक्तैन भन्ने कुराको सिकाई एकातिर थियोभने अर्कातिर मान्छेको जीवन हरण गर्ने अधिकार कसैलाई पनि हाम्रो कानूनले दिएको छैन भन्ने कुरा मेरो मानसपटलमा घुमिरह्यो । त्यही कारणले पनि धन्छवार घटनको सत्य तथ्य पत्ता लगाई बाहिर ल्याइदिनु प¥यो भन्ने ती अपरिचित सागरको आग्रहलाई मैंले स्वीकारें ।
त्यसपछि मैंले मेरो कार्यालयका प्रमुखलाई फोन गरेर सबैकुरा बताएपछि उहाँ त एकछिन् अनुगमन गर्ने कि नगर्ने भन्नेमा अलमलमा पर्नुभयो । त्यसपछि मैंले संगठनका प्रमुख जिम्मेवार व्यक्तिलाई सो कुराको फेरिहस्ता बताएपछि उहाँले एउटा लिखित निवेदन आए त्यसैलाई आधार बनाएर अनुगमन गरौं भन्ने निक्र्यौल निकल्नुभयो । मसँग कुँबरको फोटो पनि थियो, त्यो फोटोसमेत मैंले कार्यालयमा लगें र विहान फोन गर्ने सागर भन्ने व्यक्तिलाई सम्पर्क गरें । तर उनी त्यहाँ सजिलै नभेटिने रहेछन् । फोन उठाउने व्यक्तिलाई आफ्नो सबै परिचय दिएपछि मात्रै उनले ‘म खबर गरिदिन्छु एक घण्टापछि फेरी गर्नुहोला’ भनेपछि ढुक्क भएँ । किनकी उनीसँग सम्पर्क भएपछि मात्रै हामीहरु अनुगमन गर्न जान सक्थ्यौं । तर एक घण्टा नबित्दै उनले मेरो मोवाइलमा घण्टी बजाई हाले । त्यसपछि पार्टीका तर्फबाट छानबिनका लागि आधिकारिक पत्र पठाइदिनुहोला भनेर बताएँ । उनले त्यसलाई सहजै स्वीकार गरे र दुई घण्टापछि फयाक्स् पठाइदिन्छु भनेपछि नम्बर टिपाइदिंएँ ।
माओवादीका तर्फबाट आवेदन आउने करिव करिव पक्का भएपछि सिनियर र जुनियरसहित ७ जनाको कार्यालयमा बैठक बस्यो । बैठकले सुरक्षा, तटस्थता, निश्पक्षता, गोपनियता र वास्तबिकता जस्ता विषयमाहरुमा बढी जोड दियो । किनकी मूलुकमा जारी संकटकाल अत्यन्त चरम अबस्थामा थियो । उक्त घटनालाई अनुगमन गर्नु भनेको माओवादीलाई सहयोग गरेको जस्तै आरोप लाग्न सक्थ्यो । ‘मानवअधिकारवादी भनेका माओवादी हुन्’ भनेर राज्यका तर्फबाट पटक पटक सौतेलो व्यवहार खेपीरहेका हामीहरुलाई उक्त घटनाको स्थलगत अध्ययन÷अनुगमनगरी प्रतिवेदन सार्वजनिक गर्न निकै चुनौतीपूर्ण थियो । ‘‘राज्यका तर्फबाट पक्राउ गरिएका व्यक्तिलाई सार्वजनिक गर’’ भनेर विज्ञप्ती निकालेकै आधारमा एकातिर राज्यका तर्फबाट माओवादीको बिल्ला भिराउने र अर्कातर्फ माओवादीले सुराकी गर्न आएका हुन् भनेर काममा अबरोध सिर्जना गर्ने व्यवहारले ‘जीवनको अधिकार कुनैपनि बहानामा हरण गर्न पाइन्न’ भन्ने हामीहरु आफैं जोखिममा परिरहेका थियौं । बैठक सकिए लगत्तै दिउँसो करिव साँढे तीन बजेरित फयाक्स् आयो । फ्याक्स आउने कोठानैं यस्तो कोठा थियो जहाँ एक जना जीवन जोगाऊ अधिकृत २४ सै घण्टा ‘टेलिफोन ड्युटी’मा बसेका हुन्थे भने प्राप्त सूचनालाई तत्कालै सरोकारवाला निकाय, संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायोग, राष्ट्रिय मानवअधिकार आयोग, एमनेष्टी इन्टरनेशनल, आइसिआरसी, ह्युमनराइट्स वाच जस्ता संगठन र सञ्चार माध्यमह हरुमा पठाइन्थ्यो । र त्यहाँ कार्यालयका सबै कर्मचारीरुलाई प्रवेश अनुमति थिएन । किनकी सबैको सहज पहुचले स्रोतको सुरक्षा, गोपनियता र तथ्याङ्क जस्ता बिवरणले सिंगो संगठनलाई जोखिममा पार्न सक्थ्यो । यस तर्फ त्यस विभागमा काम गर्नेसाथीहरु निकै होशियारीका साथ काम गर्दैआएका थियौं । फ्याक्स आउनासाथ प्रमुख जिम्मेवार व्यक्तिलाई देखाएँ र एक प्रति फाटोकपी गराएँ । किनकी फ्याक्स आएको प्रति आफैं उड्ने भएकाले त्यो गर्न जरुरी हुन्थ्यो ।
त्यसपछि भने ‘‘सिरहाको धन्छवारमा घटेको घटनाको स्थलगत अध्ययन÷अनुगमनका लागि टोली प्रस्थान गर्दैछ’’ भन्ने कुरा सञ्चारमाध्यम मार्फत भन्ने सूचना प्रवाहित गराएर साथीहरु बद्री सिवाकोटी, गोपाल श्रेष्ठ र मसहित हामी तीन फेरी कुराकानी गर्न बस्यौं । बसाइका क्रममा हामीलाइए आइपर्ने समस्या, सहयोगीहरुको पहिचान र संभावित खर्चको माग ग¥यौं । साथसाथै भोलीका लागि टिकटको प्रबन्ध मिलाउन भन्यौं । विष्णु वास्तोला जी (त्यस प्रकारको विद्यामा निकै सिपालु हुनुहुन्थ्यो)ले भोली विहानको टिकटको व्यवस्था मिलाउनु भयो । टिकट पनि मिलेपछि मैंले सिरहाका अधिकारकर्मी देवराज पोखरेललाई आफूहरु धन्छवार घटनाको स्थलगत अध्ययन गर्नका लागि आउँदै छौं भन्दै सहयोगको याचना गरें । उनले अर्का अधिकारकर्मीको पनि नाम टिपाईदिए । त्यसपछि मानअधिकार रक्षक जो अग्रज हुनुहुन्थ्यो, बद्री सिवाकोटी उहाँकै कमाण्डमा हामी विहान ९ः१५ बजे बुद्ध एयरको जहाज मार्फत जनकपुर हुईकियौं ।
राजधानी काठमाण्डौबाट हिंड्दा हामीले सजिलै घटना स्थल पुग्नसक्छौं भन्ने सोचेका थियौं । जनकपुर एयरपोर्ट पुगेपछि विहानः १०ः३० बजेको समयमा सेनाले तलासी र कहाँ ? किन ? जस्ता दर्जनौं प्रश्नले हामी झस्कन पुग्यौं । अन्य दुई जना साथीको जनकपुरको पाइला टेकाई नौंलो भएपनि मेरो लागि भने नयाँ थिएन । त्यसैले दुई घण्टा जनकपुर बसाइको क्रममा हामीले सिरहा जिल्लाको घटनाबारे केही जानकारी हाँसिल गर्न सक्यौं ।
दिउँसो करिव १ःबजेतिर हामी सिरहा वा सप्तरी जाने लोकल बसमार्फत लाहान जाने र त्यही पुगेर घटनाबारे थप अध्ययनगरी मिसन सफल पार्ने निर्णया गरेर बसपर्क तर्फ अगाडि बढ्यौं । पिडारीचोकमा पुग्नासाथ लोकल बसको टिकट काट्ने व्यक्तिले भोली बन्दछ, गाडी जाँदैन भनेर जवाफ दिए । टिनले बनाएको एउटो कटेरोभित्रबाट आएको आवाजले हामीलाई चिन्तित बनायो । हामीहरु सडकको छेउमा धुलो खाँदै उभिरह्यौं । आधा घण्टाको अन्यौलपछि एउटो खचाखच भरिएको बस आएर टक्क अडियो । बसका खलासी राजविराज–राजविराज भनेर कराउन थालेपछि हामीहरु भित्र छि¥यौं । ठेलाम ठेल र अटेस मटेसका बीच हामीहरु चढेको बस तीब्र गतिमा अगाडि हुइकियो । तर कमला नदीको पुल तरेपछि बसका कण्डक्टरले त्यस अगाडि कसैको बस पनि नगएकाले आफूहरु पनि जान नसक्ने बताए । उनको कुरा सकिन नपाउँदै बसका पाइलटले एक्कासी गाडीको स्टार्ट नैं बन्द गरे । बेलुका जसरी पनि लहान बजार आइपुग्ने भनेर हामीले स्थानीय अधिकारकर्मी कमल यादवलाई खबर गरेका थियौं । दिउँसो तीन बजेपछि पूर्वबाट एउटा बस आयो । बाटो कतै बन्द छैन भनेर उसले बताएपछि ती बस चालकले यात्रुहरुको आग्रहमा बसलाई बस स्टैण्डभन्दा अन्य कतै नरोक्ने सर्तमा अगाडि कुदाए ।
हामी दिउँसो करिव ४ः३० बजेतिर गन्तव्यस्थल लहान बजारमा आइपुग्यौं । त्यसपछि कमल÷देबराजजी लाई खोजी ग¥यौं । कमलजीले हामीलाई होटल बिशालमा राख्न भनेर लैजानुभयो । किनकी उक्त होटल एमाले नेताको भएकाले पनि अन्य होटलको तुलनामा सुरक्षाको दृष्टिले अलि बढी भरपर्दो थियो । तर त्यस दिन कोठा पाइएन । त्यसपछि उहाँले हामीलाई मारवाडी सेवा सदनमा लैजानुभयो । माओवादीका केन्द्रीय सदस्यसमेतलाई मारिएको भनिएको घटना बुझ्न गएका हामीहरु भित्र–भित्र निकै डराएका थियौं । माओवादीका ठूला नेता तथा कार्यकर्ता पहिलोचोटी मारिंदा त्यसरी अनुगमन गर्न जाने हामीनैं पहिलो थियौं । त्यसैले पनि हामीलाई बढी त्रसित बनायो । बेलुका नौं बजेदेखी कफ्र्यु लाग्ने थाहा पाएपछि खाने कुराको बन्दोबस्ती गर्नतिर लाग्यौं । मारवाडी सेवा सदनमा खाना खान नपाइने भएकाले लाहान बजारको पुछारमा रहेको ‘कान्छा होटेल’ मा करिव ६ः४० बजेतिरै खाना खाएर बासस्थानतर्फ लाग्यौं । त्यहाँ आएर हामी सानो स्वरमा भोली विहानदेखी बेलुकासम्मको कार्य योजना बनायौं ।
घटनास्थलमा यातायातको कुनै साधान नचल्ने र मोटर साइकलमा जाँदा असुरक्षित भइने निश्कर्षपछि विहान ७ बजे त्यस तर्फ जानका लागि कमलजीले गाडीको खोजी गर्नुभयो तर कतैपनि पाउन सकिएन । अर्थात धन्छवार जाने भनेपछि कसैले पनि गाडी दिन मानेनन् । त्यसैबीचमा हामीहरु काठमाण्डौबाट लाहान आएको कुरा माओवादीका सेक्रेटरीले कसरी थाहा पाएछन् कुन्नी ? राती ८ः३९ बजे फोन आयो । उनले घटनापछि बाँचेर आएका साथी हुुनुहुन्छ, उहाँलाई भेट्नु होला । सकियो भने हामी तपाईलाई दिउँसो २ः३० बजे त्यही क्षेत्रमा भेट्ने प्रयाश गर्नेछौं भनेर फोन राखिदिए । सायद हामीहरुले मिडियामा आफूहरु अनुगमन लागि हिंडेको भनेर पठाएका कारणले पनि उनीहरुले थाहा पाएका होलान । राती १०ः१५ बजे तत्कालिन एमालेका स्थानीय नेता तथा लाहान नगरपालिकाका उपमेयरले आफ्नो निजी सवारी साधनको ‘सम्पूर्ण जिम्मेवारी लिनुपर्छ’ भन्ने कुरा गरेपछि बल्ल हामी ढुक्कभयौं । विहान ५ बजे उठ्यौं र क्यामरा, रेकर्डर, खाली नोटप्याड र शाही नेपाली सेनालाई लेखेको चिठ्ठी झोलामा बोकेर हामी ६ः०० बजे विहानै बाहिर निस्कियौं ।
बाहिर निस्केर सडक छेवैमा रहेको चिया पसल घुड्को तानेका मात्रै के थियौं, आज त सिरहा बन्द रे ! भनेर एक अधवैंसेले सुनाए । उनले पनि चिया खना आउने क्रममा माओवादीले छरेको पर्चा सडकमा देखेर मात्रै थाहा पाएका रहेछन् । त्यसपछिभने हामी झसङ्ग भयौं । हिजो बेलुका बनाएको योजना असफल हुनेभयो, काठमाण्डौबाट हिंड्दा के के न गर्छौं भनेर आएका हामीहरु माओवादीको बन्दले घटनास्थल तर्फ पनि पुग्न नसक्ने भयौं भन्ने कुराले हामीहरुलाई निकै बेरसम्म सतायो । सँधै विहान ६ः३० बजेदेखी खुल्ने बजारहरु बन्दकै कारण नखुलेपछि कमलजीले पसल खोल्न लगाएर ‘मानवअधिकार अनुगमन’ भनेर एउटा व्यानर लेखाउनुभयो । माओवादी आक्रमणको त्रासले ती पेन्टर निकै डराएका देखिन्थे । उनमा आक्रमणको ठूलो त्रास उनको अनुहारमा सजिलै पढ्न सिकन्थ्यो ।
माओवादीभित्रका आन्तरिक समाचारहरु प्रकाशित गर्ने स्थानीय ‘पूर्व साप्ताहिक’ले घटनावारेमा तथ्य कुरा प्रकाशित गरेको छ भन्ने कुरा थाहा लागेपछि म र बद्रीजी पत्रिकाको कार्यालय खोज्दै गयौं । संयोगनैं मान्नुपर्छ, पत्रिकाका कार्यालय सामुन्ने सेनाको चेक प्वाइण्ट रहेछ, फेरी बयान दिनुपर्ला भनेर सडकको किनारबाट मात्रै हिंडेर भित्र छि¥यौं । एक जना बराल थरका सञ्चारकर्मी र पेशाले राजनीति कर्मी पनि हुनुहुदोरहेछ, उहाँले परिचयपछि सबै कुरा बताइदिनुभयो । त्यसले घटनापछि विकसित अबस्था, सुरक्षाफौजको सक्रियता र घटनाका स्रोतहरुसम्मको पहुँच बढाउन मद्दत पुग्यो । ८ः बजे हाम्रो व्यानर तयार भयो । तर हिजो रातीनैं दिन्छु भनेको गाडी तयार भएन, अर्थात माओवादीको बन्दको डरले गाडी आफ्नो घरबाट बाहिर निकाल्न मूस्किल परेछ । पछि निकै आग्रहपछि राजेन्द्रजीले गाडी पठाइदिए ।
हामीहरु पौने ८ बजेतिर लाहान बजारबाट करिव १७ किलोमिटर तर्फ अगाडि बढ्यौं । घटनास्थलमा जानुभन्दा अगाडि त्यहाँ परिचालित सुरक्षाफौज अर्थात शाही नेपाली सेनालाई भेटने योजना अनुसार बन्दको अबज्ञागर्दै तीब्र गतिमा गाडि हुइक्यायौं । बाटोमा कसैले रोक्न भनेपनि नरोक्ने र एकजनाले प्रंश्न सोध्ने र थप केही सोध्नुपरे अन्तिममा सोध्ने, उसको कुरामात्रै लिने, अरुले भनेको कुरा केही पनि नभन्ने जस्ता कुराहरुको संहिता बनायौं । त्यही संहिता अनुसार ९ः०० बजेतिर हामीहरु सेनाको व्यारेक अगाडि आएर टक्क रोकियौं । त्यस बेला हामी तीन जना र एक जना चालक थिए, र चालकलाई पनि ‘मानवअधिकार अनुगमन’ को कोट पहिरिन लगाएर चलाखी ग¥यौं । अनि सैन्य अधिकारीले सोध्नसक्ने संभावित प्रश्नहरुका विषयमा छलफल ग¥यौं । किनकी मानवअधिकारवादी भनेका माओवादी हुन् भन्ने कुराको गलत प्रचार तीब्र पारिएका बेला हाम्रै बोली र व्यबहारले थप जोखिम ननिम्त्याओस् भनेर सजकता पनि अपनायौं ।
सैन्य व्यारेकमा सेन्ट्री बसेका व्यक्तिलाई आफूहरुको परिचय दिएर पत्र हातमा थमायौं र कर्सा’प लाई भेट्न चाहेको बिन्ती बिसायौं । उनले अर्का एक सिपाहीलाई उक्त पत्र दिएर पठाउँदै सेटबाट सो कुरा जाहेर गरेपछि गेटभित्रको प्रतिक्षालयमा राख्ने आदेश आएछ क्यार ! हामीलाई भित्र वोलाए र प्रतिक्षालयमा बस्ने फर्मान जारी गरे । हामी चुपचाप बस्यौं । हँसी मज्जाको गफ बाहेक अरु हामीले त्यहाँ घटनाका विषयमा केही पनि कुरा गरेनौं ।
झण्डै आधा घण्टाको प्रतिक्षापछि माथिबाट आदेश आयो ‘मानवअधिकारका मान्छेहरुलाई पठाई दे’ हामीलाई उनले अगाडि जान आग्रह गरे, त्यही बाटोबाट हामी तीनजना अगाडि जाँदैंगर्दा क्याप्टेन सा’प लिन आउनुभएको रहेछ । हामीलाई अपरेशन कक्षमा लगियो । सिभिल ड्रेसमा रहेका एक व्यक्तिले बडो मिजासिलो स्वरमा भने– म कर्णेल बाबुकृष्ण कार्की । हामीले पालैसँग हात मिलाउँदै आफ्नो परिचय बतायौं । र एक जना साथीले भेटको उदेश्यवारे प्रष्ट्यौं । त्यसपछि उनले क्याप्टेनलाई चियाँ ल्याउनका लागि आदेश दिए । माओवादीका केन्द्रीय नेतासहित तीन जना मारिएको सुनियो, के हो वास्तविकता बताइदिनुस न ? भन्ने बद्रीजीको प्रश्नको उत्तरमा कर्सा’प कार्कीले भने– त्यो घटना दोहारो भिडन्तनैं हो । माओवादीका तर्फबाट फायर खोलिएपछि हामीले जवाफी कारबाही गर्दा उनीहरु मारिएका हुन् । गफकै क्रममा चिया आइपुग्यो । चिया नसकिंदै कर्सा’पले घटनास्थलको म्याप देखाउनुभयो । सैन्य अधिकारीले त्यसरी कहीं पनि म्यापिङ मार्फत घटनाको बिबरण मानवअधिकारवादीलाई देखाएको जानकारी मलाई छैन । उनले पिलपिल बल्ने स्टिकले आधा घण्टासम्म निरन्तर घटनाको फेरिहस्त बताए । कर्सापको बिफ्रिङ सुनेपछि लाग्थ्यो सबै भिडन्तहरु यस्तै प्रकृतिबाट घटित हुँदारहेछन् ।
‘‘तपाईहरुले त नियन्त्रणमा लिन सक्नुुहुने रहेछ नि ?’’ भन्ने मेरो जिज्ञासामा कर्सा’पले भन्नुभयो– नियन्त्रणमा त लिन सकिन्थ्यो होला ! मेरा केटाहरुले दुःख पाउने र दिनभर लखेट्दैमा समय खर्चिनु पर्ने भएकाले कारबाही गरेका हुन् । उहाँले आफ्नो कुरा बताइरहँदा मानवअधिकार अनुगमन टोलीसँग आइकन्ट्याक गर्न सक्नुभएको थिएन । त्यसपछि उहाँले अपरेशमा संलग्न कमाण्डरलाई अगाडि उभ्याए पनि प्रश्न सोध्न दिनुभएन । हामी झस्कियौं । कर्सापले किन त्यस्तो गर्नुभयो ? भन्ने कुराको आ–आफ्नै तरिकाले मनमनैं बिश्लेषण गर्न थाल्यौं । कुराकानीकै क्रममा हामी दिउँसो घटनास्थल तर्फ जाँदैछौं भनेर जानकारी दियौं ।
बिहान १०ः४५ बजेतिर हामीहरु कर्सा’पको कार्यकक्षाट बाहिरियौं । र लाहान तर्फ हुईकियौं । ११ः३५ बजे कान्छा होटलमा पुगेर खाना खायौं र देवराज÷कमलजीलाई (जो भोजपुरी भाषा बोल्नुहुन्थ्यो) साथै लिएर हामी घटनास्थल धन्छवार तर्फ गयौं । धन्छवार गाऊँ पुग्नुभन्दा करिव १ कि.मि. सम्ममात्रै हाम्रो गाडी गयो । त्यहाँबाट हामीहरु पैदल हिंड्नु पर्नेभयो । गाडीबाट अर्लैर झण्डै डेढसय मिटर मात्रै अगाडि बढेका थियौं, वाँसको झ्याङमा आड लिएर बसेको सेनाले रोक्यो । ‘‘तपाईहरु कहाँ हिंड्नु भएको ?’’ हामीले हाम्रो सबै कुरा बताएपछि जानोस् भन्ने आदेश आयो । विहान कर्सा’पलाई भेट्ने क्रममा त्यस क्षेत्रमा आफ्नो सेनाहरु नभएको बताएका थिए तर एक्कासी गाऊँ अगाडिनैं सेना भेटिएपछि हामी छक्कमात्रै भएनौं त्रसित पनि बन्यौं । किनकी हामीलाई त्यही गाऊँमा माओवादीका जिल्ला सेक्रेटरीले भेट्ने बताएका थिए । ‘उनीहरु भेट गर्न भनेर आए भने फेरी सेनाले मार्छ र त्यसको दोष हामि माथी आउँछ’ भन्ने कुरातर्फ सजगता अपनायौं । किनकी हाम्रो काम गराइले कोही पनि जोखिममा नपरुन भन्ने मान्यतालाई सँधै आत्मसात गरिरहेका थियौं ।
सेनाको सोधपुछपछि हामीहरु गाउँमा छि¥यौं । ‘अस्ती माओवादीका मान्छेहरु समातिएको घर कुन हो ?’ भन्दै सोध्दै गयौं । हामीहरु (यादवको) घरमा पुग्दा उहाँहरुमा ठूलो डर र त्रास थियो । हामीले आफ्नो परिचय बतायौं । सहकर्मी साथीले मैथीलीमा कुरा गरिदिनुभएकाले उहाँहरुले हामीहरुलाई चिन्न सजिलो भयो । बाहिर एउटा खटिया थियो, त्यस खटियामा जाजिम ओच्छ्याएर निकै सत्कारका साथ बस्न आग्रह गरेपछि बल्ल कुरा अगाडि बढ्यो । सहकर्मी कमलजीले बीचमा भाषा उल्था गरेर सहयोग गरिदिएकाले बुझाइमा समस्या आएन । आँगनमा एउटा दुहुनो गाई र भैंसी बाँधिएको रहेछ । कुराकानी गरिरहँदा आकाशमा हेलिकोप्टरले गाउँलाई फन्को मारिरहेको थियो । त्यो हेलिकोप्टर हरियो रङ्गको देखिएकाले हामीले सेनाकै हो भनेर लखकाट्न मुस्किल भएन । अरु बेला गाउँमा ट्रक र ट्राक्टर र हेलिकोप्टर बस्दा हेर्न आउने वालवालिका र सर्वसाधारणहरु कोही पनि बाहिर निस्केनन् । हरिया कोट लगाएका हामीहरुलाई देखेर यादव बाको घरमा कोही छिमेकीले पाइला टेकेनन् । कति डर र त्रास रहेछ गाउँमा भन्ने कुराको मनोविज्ञान यहाँ देख्न पाइयो । छिमेकमा नयाँ मान्छे आउँदा करेसाको डिलबाट हेर्ने छिमेकीहरुले ढोकाबाट चियाएर हेर्ने हिम्मत गरेनन्, अर्थात उनीहरुमा चार दिन अगाडिको घटनाले निरन्तर सताइरहेको सहजै अनुभव गर्न सकिन्थ्यो ।
प्रत्यक्षदर्शीले हामीलाई घटना बिबरण बताइरहँदा पछाडिबाट एक्कासी सेना आँगनमा टुप्लुक्क आइपुग्यो । हामीमा सन्नाटा छायो । उमेरले पाको र मैंले भन्दा धेरै अगाडि भोटो फटाएकाले पनि होला बद्रीजीले प्वाक्क भन्नुभयो–‘बुबा गाई–भैंसीले कति दूध दिन्छ, धिउ त धेरै हुन्छ होला हैन ?’ भन्ने प्रश्नको उत्तर ती बुढा बाले तत्कालै दिईहाले– त्यही हो दुईटाको गरेर पाँच÷छ लिटर जति हुन्छ, डेरीमा बेच्न लैजाने गरेकाले त्यति धेरै घिउ बन्दैन । त्यति कुरा गर्दासम्म सेना आँगनमै उभिइरहेको थियो । त्यसरी नैं कुराकानीको प्रसङ्ग अन्यत्र मोडिएपछि सेनाको हुल गाउँको बीचतिर लागेपछि हामी पनि थप कुराकानी नगरी पुर्नी पोखरी तर्फ अगाडि बढ्यौं । बुढाबाले दिएको बिबरण अनुसार हामी धानबारीको आलीनैं आली हिड्यौं । खेतका गराका बीचमा धानहरु माडिएका रहेछन् । मान्छे कुदेर धानवारीमा मुस्लोनैं बनेको र पुर्नी पोखरीको डिलमा कटकटीएर सुकेको अबस्थामा रगतका टाटाहरु पाइयो । हामी पोखरी छेउको डिलमा बसिरहँदा आकाशमा ‘हरियो हेलिकोप्टर’ उडिरहेको थियो । गाउँमा मान्छेहरुको चहलपहल र घर बाहिर निस्किएका पनि देखिएनन् । हामी चार जना झण्डै आधा घण्टापनि पोखरीको डिलमा बसिरह्यौं । कसरी र कहाँ कस्लाई पुरिएको होला भन्ने कुराको लख काट्न थाल्यौं । उत्तर–पूर्वतर्फको खाल्डोमा २ जना (बिशाल र मोहनचन्द्र प्रत्यक्षदर्शीको भनाई, जसको खुट्टाको भाग स्यालले खान थालेको असुरक्षित देखिन्थ्यो) र उत्तर–पश्चिमको खाल्डोमा कार्की थरका व्यक्ति (उनी मृत अबस्थामा पनि सुरक्षित) थिए । त्यही विश्लेषण गर्ने क्रममा मेरो मोवाइलमा घण्टी बज्यो । केन्द्रीय कार्यालयबाट आयोकि भनेर खल्तीबाट निकालें तर सिरहा जिल्लाकै लोकल नम्बर रहेछ । मैंले हेल्लो भन्नासाथ उताबाट सोधियो–तपाइहरु कहाँ हुनुहुन्छ ? मैंले सोधें तपाई को हो ? म जिल्ला इन्चार्ज विप्लव । त्यसपछि हिजो मलाई फोन गर्ने ब्यक्ति उनै रहेछन् भन्ने लाग्यो र घटनास्थलमैं छौं भनेर बताएँ । उनले भेट गर्न चाहेको बताएपछि मैंले सेना गाउँमा रहेको र टेलिकोप्टरले निगरानी गरिरहेको कुरा बताइदिएँ । सकिएछ भने भोली अन्यत्र कतै भेटौंला नभए फोनमा कुरा गरौला भनिरहँदा काठमाण्डौबाट साथै आउनुभएका मेरा सहकर्मी गोपालजीको मुटुमा ढ्याङ्ग्रो ठोकिरहेको थियो । मलाई फोन राख्नुस् भन्दै थप कुरा गर्नबाट रोकिरहनु भएको थियो ।
गाउँमा घुमिरहेको सेना हामीहरु भए तर्फनैं तेर्सिएको देखेपछि गोपालजीले भन्नुभयो–हामी यहाँ नबसौं, सेना यतै आइरहेको छ । नभन्दै सेना धानको आलीबाट हामीहरु तर्फनैं अगाडि बढेको देखिएपछि मलाई पनि भित्र–भित्रै डर लागेर आयो । आधाघण्टासम्म बाम चुटाई गरेर बयान लिएपछि गोलीको पर्राले जीवनको अधिकारनैं समाप्तगरी एउटो चिहानमा दुइटो जीवन माटोमा मिलाएको दृश्यले झन कठोर बनायो । ‘मान्छेलाई मारिहाल्नु हुन्न, सुुध्रिने मौका दिनुपर्छ’ भनेर बताउने उनै बिशालको मृत शरीरलाई स्यालले चिथोर्न थालेको देख्दा सेनाहरु किन मानब हत्यामा संलग्न भएको होला ? भन्ने प्रश्नले मेरो मानसपटलमा निकै बेरसम्म डेरा जमाइरह्यो । जेनेभा महासन्धीको साझा ३ का प्रावधानहरू संझिएँ । त्यहाँबाट हिंडेका हामीहरु फेरी पहिलाकै घरमामा पुगेर पानी खान माग्यौं । तपाईहरुको घरमा हामी आएकै कारणले तपाईको परिवारमाथि कुनै पनि प्रकारको समस्या आउँदैन भनेर बद्रीजीले भनिरहनुभएको थियोभने कमलजीले त्यसलाई मैथिलिमा बताइसकेपछि बुढाबाले आँखाभरी आँशुपार्दै भन्नुभयो– ‘‘हामीले खाना पकाएर खुवाएका त्यति राम्रा मान्छेलाई सुपारी खाएर खटियामा बसिरहेका बेला हतियार बोकेका मान्छेहरुले समाउन खोजे । दुई जना धानघारीतर्फ भागेभने एक जना गन्जी खोलेका गोरो, होचा व्यक्ति (शेरमान)लाई भने आँगनबाटै समात्यो । समात्ने बित्तिकै पिट्न थालेपछि मलाई नपिट्नुस् भनिरहनुभएको थियो । भागेका तीनै जनालाई समातेर गाउँ घुमाउँदै खै कता लगे पछि त पोखरी छेउमा पु¥याएर गोली हाने । त्यस बेला हेलिकोप्टर पनि आएको थियो तर गाउँले कसैलाई पनि बाहिर निस्कन दिइएन ।’’
विहान ७ः३० बजे भारतीय सिमा क्षेत्रबाट पूर्वी कमाण्डको कार्यालय (पहाड) तर्फ हिंडेका उनीहरुलाई दिउँसोबाटो राजमार्ग काट्न अप्ठेरो भएपछि खाना खाएर राती हिंड्ने योजनाका साथ ठूलो संख्यामा रहेका माओवादीहरु समूहगत रुपमा विभाजित बनेको पाइयो । माओवादीको हिंड्ने बसोबास गर्ने स्थालका रुपमा परिचत धन्छवार क्षेत्रलाई सेना र राष्ट्रिय अनुसन्धान विभागले पहिलादेखीनैं निगरानीमा राखेको र त्यो निगरानीमा सेना अग्र स्थानमा रहेको सिरहाका तत्कालिन प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरिक्षक मिनप्रसाद पाण्डे (जो नेपाल प्रहरीको संगठनमा इमान र जमान भएका कर्तव्य निष्ठ मानिन्छन्) र राष्ट्रिय अनुसन्धान विभागका प्रहरी निरिक्षक विश्व अधिकारीको कुराबाट प्रष्ट बुझ्न सकिन्थ्यो । बाहिर सुरक्षा फौजका बीचमा निकै राम्रो सहकार्य भएको प्रचारवाजी गरिए पनि सरकारको सौतेलो व्यवहारको प्रभाव सिरहामा निकै गहिरो रहेछ । ‘सेनाले पक्राउ गर्ने, जानकारी नदिने, यातना दिएर मर्न लागेपछि प्रहरीलाई जिम्मा लाउने’ प्रवृति बढेपछि यूनिफाइड कमाण्डमा निकै ठूलो आन्तरिक फाइड नैं चलेको बिबरण पनि हामीहरुले थाहा पायौं । प्रहरी र सेनाको बीचमा किन यतिसारो द्वन्द्व बढेको होला भन्ने कुराहरु हामीले खोज्ने प्रयत्न ग¥यौं । बद्रीजी, गोपालजी र म तीन जनामात्रै सिरहा सदरमुकाम पुग्यौं । कुराकानीका क्रममा धन्छवारमा कुनै दोहोरो भिडन्त नभएको विवरण हामीले थाहा पायौं । राष्ट्रिय अनुसन्धान विभाग र नेपाल प्रहरीको राजनैतिक अन्वेषण विभाग (राअ)को धन्छवार घटनामा एउटै दैनिक जाहेरी देखिएपछि सभासद हेमनारायण यादव, विश्वकर्मा पुजाको दिन घरबाटै समातिई आँपघारीमा राती करिव १०ः३० बजे एकैसाथ मारिएका फेकन यादव, मन्जु दासलगायत ५ जनाको नियति ‘धन्छवार भिडन्त’ भन्दा फरक बन्न नसकेको बिबरणले हामीलाई निकै त्रसित बनायो । सिडिओ, प्रहरी र राअका अधिकारीसँग गरिएको कुराकानीको टिपोट कसरी सुरक्षित राख्ने र कसरी काठमाण्डौसम्म लैजाने भन्ने चिन्ताले सतायो । सिंगो गाउँनैं रातारात डकैत हुने र प्रहरीले थाहा पाएर जाँदा निकम्मा बनेर फर्किनु पर्ने सिरहामा हामी बस्नुहुँदैन भन्ने निश्कर्ष लिकाल्दै त्यहाँबाट लाहानतर्फ फर्कियौं ।
हाम्रो खाना खाने एउटै स्थान थियो–कान्छा होटेल । खाना खाएर हामी होटलतर्फ लाग्यौं । खाना खाएर होटलमा पुगेको मात्रै थियौं, सहकर्मी देवराजजीले शिवनगरमा राप्रपाका केन्द्रीय सदस्य तथा जिविसका क्षेत्रीय सदस्य लाई हिजो साँझ माओवादीले गोली हानेर हत्या गरेको कुरा सुनाउनुभयो । हामी जनकपुर फर्कने कि भन्ने सोचाइमा पुगेका बेला उक्त घटनाले फेरी सोच्न बाध्य बनायो । हामी मानवअधिकारकर्मी राजधानीदेखी यहाँसम्म आएका छौं, जे सुकै होस् हामीहरु त्यस घटनामा जानुपर्छ र माओवादीलाई मानव हत्या रोक्नका लागि दबाब दिनुपर्छ भन्ने सहमति ग¥यौं । अघिल्लो घटनाको टिपोट च्यातेर सूर्य चुरोटको बट्टाभित्र मिलाई होटलको कोठाभित्र रहेको दराजमा बन्द गरेर राख्यौं । अनि हामी मध्यान्ह १२ः३० बजेतिर घटनास्थल तर्फ लाग्यौं । साँझ तपाईसँग केही कुरा गर्नुछ भन्दै एक माओवादी कार्यकर्ताले बोलाएर गोली प्रहारगरी हत्या गरेछन् । हत्याले सिङ्गो गाऊँनैं शोक मग्न थियो । घर अगाडि श्रद्धाञ्जली सभाको आयोजना गरिएको रहेछ, सिनियरको हैसियले बद्रीजीले सम्बोधनगर्दै भन्नुभयो– यो वा त्यो बहानामा मान्छे मार्न पाइन्न । हामी मानवअधिकारवादीहरु माओवादीका तर्फबाट गरिएको कायरतापूर्ण हत्याको घोर भत्र्सना गर्दछौं । हामी यो पनि आग्रह गर्दछौंकी घटनामा संलग्नहरु पत्तालगाई कडा कानूनी कारबाही गर्न र मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिइनु पर्दछ । उहाँले सम्बोधन गरिसकेपछि हामीहरुले शोक पूस्तिकामा हस्ताक्षर ग¥यौं ।
घामले डाँडा काट्न लागिसकेको थियो । एकातिर माओवादी आक्रमणको त्रास र अर्कातिर सुरक्षाफौजको सर्च, पक्राउ र दोहोरो भिडन्तका घटनाले हामीहरुमा पनि ठूलै त्रास पैदा गरिदिएको थियो । त्यसैले त्यहाँबाट बाहिर निस्कनासाथ मैंले भनें– आज जसरी पनि हामीहरुले जिल्ला छोड्नुपर्छ । किनकी हामीहरु त्यस अगाडि राज्यका अधिकारीहरुलाई बिना सूचना ‘आँपघारी दोहोरो भिडन्त’ को अनुगमन गर्न गएका थियौं । आफूसँगै बसेका श्रीमान् फेकन यादवलाई पक्राउ गरेर तीन दिनपछि दोहोरो भिडन्तका नाममा मारिएको समाचार सुनेपछि हामीहरुको गाडीमा झुण्डिएर ‘‘मेरो श्रीमान्को लास कुन ठाउँको हो देखाई दिनुप¥यो ?’’ भन्दाभन्दै पनि सहयोग गर्न नसकेको पिडा एकातिर थियोभने आर्कातिर आँपघारीका वासिन्दालाई वोलाएर विहान झिस्मिसेमैं खाल्डो खन्न लगाएपनि पुर्ने मान्छेहरुको अनुहार हेर्न नदिएको तथा प्रहरीले घटनाको मुचुल्का बनाएको स्थानीय बासिन्दको भनाई आएपनि जिल्ला तथा इलाका प्रहरी कार्यालय कतैबाट पनि प्रहरी त्यस ठाउँमा नगएको भनाइले हामीलाई बेलुकै लाहान छोड्न दबाब दियो । हामीले ती सबै घटनाको विश्लेषण ग¥यौं र अन्ततः जनकपुरमा गएर बस्ने निणर्यमा पुग्यौं । हामी त्यही सवारी साधनमा जनकपुर जानुपर्ने र पाइलटलाई फर्कंदा सुरक्षाफौजले नियन्त्रणमा लिएर सबै सोध्योभने हाम्रो सूचना र जनकपुरमा बस्ने होटलसम्म थाहा लाग्ने भएकाले जनकचोकबाट सवारीसाधान लाई फकाईदियौं । उनलाई पनि भित्री बाटोबाट लाहान जानका लागि आग्रह ग¥यौं । जसले गर्दा अनुगानबाट प्राप्त गरेका सूचना, स्रोत र स्वयमं हामीहरु पनि सुरक्षित रहन सक्थ्यौं ।
बेलुकाको जनकपुर बसाइका क्रममा हामीले सिरहा जिल्लाको अबस्था र धन्छवार घटनाको वास्तबिकताका विषयमा मसिनो स्वरमा छलफल ग¥यौं । लगातारको काम गराइको थकानले हामी लखतरान भएका थियौं । सबैभन्दा बढी थकाई त्यतिबेला लाग्दोरहेछ, जतिबेला दिमागी तनाब बढ्दो रहेछ । आठ बज्दा नबज्दै हामीहरु ओच्छ्यानमा पल्टियौं । निदाएको थिएँ, फोनको घण्टीले झसङ्ग भई बिउँझन पुगेछु । यतिराती कसको फोन आयो भनेर हेर्न पनि नभ्याउँदै रिसिभ गर्दा ‘म लाहानबाट कमल’ भन्ने बित्तिकै के भयो भनेर सोध्न पुगें । उहाँलाई सेना बताउने अपरिचित व्यक्तिले ‘किन हामीहरुको बिरुद्ध गतिविधी गर्नुभयो, अप्ठेरो पर्लाहैं’ भनेर फोन राखिदिएको कुरा बताउनुभयो । हामीलाई धन्छवारमा लैजाने र ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका व्यक्तिलाई आएको धम्कीले म चिन्तित भए । उहाँलाई तपाई चिन्ता नर्गनुस् सबै हामी मिलाउँछौं भनेर आश्वस्त तुल्याएँ । अन्य साथी मस्त निद्रामा हुनुहुन्थ्यो । ब्यूँझाउँ कि न ब्यूँझाउँ ? भन्ने कुरा सोचें । यस्तो गंभिर कुरा उठाएरै भएपनि बताउनु पर्छ भन्ने सोचेर बद्रीजीलाई उठाएँ अनि सबै कुरा भनें । एसपीलाई खबर गर्ने भन्ने निक्र्यौल निकाल्यौं र तत्कालै फोन गरेर कमलजीको घर अगाडि प्रहरीको ड्युटी राख्न आग्रह ग¥यौं । त्यसको आधा घण्टापछि एसपीको फोन आयो, ‘प्रेमजी मैंले व्यवस्था मिलाएको छु, ढुक्क हुनुहोस् ।’ त्यसपछि भने हामी पछि अलि ढुक्कभयौं । तर सेनाको अगाडि प्रहरीको केही पनि चल्दैनरहेछ भन्ने कुरा हामीले सिरहा जिल्लामा घटेका घटनाहरुबाट त्यसको भेउ पाइसकेका थियौं ।
भोलिपल्ट विहान करिव ८ः बजेसम्मै सुतिएछ । हतार हतार गरेर नित्यकर्म सिध्याउँदै टिकेट कन्फमेशनका लागि बुद्ध एयरमा गयौं । तर दिउँसो ३ः०० बजेको मात्रै मिल्यो । त्यसपछि हामीहरुलाई पर्याप्त समयभयो । ब्रेकफास्ट खाएर हामी तीनजना होटलमा आयौं र घन्छवार घटनाको प्रतिवेदन लेखनको खाका तयार ग¥यौं । जिल्लाको अबस्था, घटनाको पृष्ठभूमि, घटना बिबरण, घटनाका सन्दर्भमा सरोकारवालहरुको भनाई, घटनास्थलमा पाइएको मूख्य तथ्यहरु, निश्कर्ष र सुझाव जस्ता कुराहरुलाई केन्द्रबिन्दु बनाएर लेख्नका लागि तीन जनाले कामको विभाजन पनि जनकपुरको होटलमैं बसेर ग¥यौं । गोपाल जी कानूनको विद्यार्थी भएकाले उहाँले हामीलाई कानूनी अबस्थावारे जानकारी गराउने भन्दै बद्रीजी र मैंले प्रतिवेदन लेखनको काम थाल्यौं । किनकी जतिछिटो प्रतिवेदन लेखियो त्यतिछिटो सार्वजनिक गरिने भएकाले हामी अत्यन्त संवेदनशिल बनेर काम गरेका थियौं । दिउँसो ३ बजे जनकपुर एयरपोर्टबाट काठमाण्डौका लागि उड्यौं, त्यसपछि मात्रै हामीहरु सुरक्षित भएको ठान्यौं । काठमाण्डौको एयरपोर्टबाट बाहिर निस्कनासाथ हामीले सबैभन्दा पहिला कार्यालयमा आफूरु सुरक्षित आइपुगेको जानकारी दियौं । भोलिपल्ट विहान ७ बजे कार्यालयमा जम्मा भएर प्रतिवेदन लेखनको बाँकी काम पुरा गर्ने निर्णयसहित हामीहरु आ–आफ्नो वासस्थानतर्फ लाग्यौं ।
बिहान भेला भएका हामीहरु मध्ये गोपालजी खर्च बिबरण प्रतिवेदन बनाउन लाग्नुभयोभने बद्री जी र म प्रतिवेदन लेखनमा जुट्यौं । दुई दिनमा प्रतिवेदन तयार पार्ने र तस्रो दिन पत्रकारसम्मेलन गर्ने उदेश्यका साथ अगाडि बढ्यौं । कार्यालयका अन्य साथीहरु पत्रकारसम्मेलन गर्नका लागि कुपण्डोल स्थित होटल हिमालयलाई छान्नुभयो भने केही साथीले सञ्चारकर्मीहरुलाई पत्र पठाउने र पत्रमा होटलसम्म आइपुग्ने नक्सा पनि राखिदिनुयो । चरम संकटकालमा गरिएको पत्रकारसम्मेलन आयोजना गर्नु आफैंमा कम चुनौति थिएन , त्यसमा पनि राज्य शक्तिको आडमा सडकमा आएको सेनाका तर्फबाट गरिएको हत्याको बिबरणहरु बाहिर ल्याउनु भनेको आफ्नो आयुनैं छोट्याउनु सरह थियो त्यस बेला । निर्धारित समयमैं हामीले प्रतिवेदन तायार पा¥यौं र पत्रकार सम्मेलनमा त्यसलाई बितरण ग¥यौं । किनकी त्यो घटना सबैको चासोको घटना थियो । हिमालय होटलको पहिलो तलाको हल खचाखच भरिएको थियो । पत्रकारका नाममा सेना र प्रहरीका अधिकारी पनि संलग्न थिए । एक दिन अगाडिनैं पत्रकारसम्मेलन गर्ने बिबरण बाहिर ल्याएपछि सबैले के–के भएछ ? निश्पक्ष प्रतिवेदन आउँछ कि आउँदैन ? सत्य तथ्य कुरा बाहिर ल्याएभने उनीहरुलाई सुरक्षाफौजले के गर्ला ? जस्ता अनगिन्ती जिज्ञासाहरु उठेका थिए । पत्रकारसम्मेलनमा आउन सक्ने संभावित जोखिम र उव्जने प्रश्नहरुको सम्भाब्यता पहिचान गरिसकेका थियौं । त्यसैले पनि पत्रकारसम्मेलनमा अनुगमन टोलीका एक सदस्य सामेल हुने र आवश्यक परे पछाडिबाट मैंले थप जवाफ दिनेगरी हलको व्यवस्थापन गरिएको थियो । हामीले अत्यन्त निर्भिक र निर्भयका साथ ‘नियन्त्रणमा लिएर हत्या’ भन्दै राज्य र माओवादीलाई सुझावसहितका तथ्यहरु बाहिर ल्यायौं । संभवतः यो नैं माओवादी संघर्षका क्रममा सबैभन्दा पहिलो, बलियो र तथ्यसहितको गैरन्यायिक हत्या सम्बन्धी प्रतिवेदन थियो ।
मारिएकाहरुः
शेरमान कुँवर
मोहन चन्द्र गौतम
रामचन्द्र कार्की, देवेन्द्रसिंह
शैलेन्द्र यादव
नाम नखुलेका दास थरका एक व्यक्ति
प्रेम दाहाल, काठमाडौं इमेलः hrlifelinehtd@gmail.com











