ललितपुरकाे पुल्चोकमा बिहीबार राताे मच्छिन्द्रनाथको रथ तान्ने क्रममा ट्राफिक प्रहरीमाथि कुटपिट गर्ने ९ जनालाई ललितपुर प्रहरीले पक्राउ गरेकाे छ।
ललितपुर प्रहरी परिसरका प्रमुख टेकप्रसाद राईले ट्राफिक प्रहरी जवान कमल घिमिरेमाथि कुटपिट गर्ने ९ जनालाई पक्राउ गरेको जानकारी दिए।
स्थानीयहरुले निषेधाज्ञा तथा प्रहरीको चेतावनीलाई वेवास्ता गर्दै बिहीबार पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ तानेका थिए। त्यसक्रममा प्रहरीले अश्रुग्याँस र पानीको फोहोरा हानेकाे थियाे।
साेही क्रममा भीडले मोटरसाइकलमा आइरहेका ट्राफिक प्रहरी जवान घिमिरेमाथि निर्घात कुटपिट गरेको थियो। हाल घिमिरेको जावलाखेलस्थित अल्का अस्पतालमा उपचार भइरहेको छ। झडपमा अन्य तीन प्रहरी पनि घाइते भएको राईले जानकारी दिए।
ललितपुर प्रहरी परिसरका प्रमुख राईले प्रहरीमाथि भएको कुटपिटको घटनालाई आफूले गम्भीर रुपमा लिएकाे र त्यसमा संलग्नहरुलाई कडा कारबाही गरिने बताए।











