सिन्धुलीका ६ जना प्रहरीमा कोरोना पुष्टि

सिन्धुलीमा ६ जना प्रहरीमा समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका ६ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीको सेफ क्वारेन्टाईनमा बसेका ६ जनामा संक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरक्षिक रञ्जु सिग्देलले बताउनुभयो ।

उहाँका अनुसार १२ जना प्रहरीको स्वाव संकलन गरि परिक्षणका लागि हेटौडा पठाईएकोमा ६ जनाको रिपोर्ट पोजेटिभ आएको हो । प्रदेश नं. २ बाट सरुवा भई आएका ४ जना प्रहरी र शंकास्पद ट्याक्सीसँग सम्पर्कमा आएका अन्य २ जना गरि ६ जनामा संक्रमण देखिएको एसपी सिग्देललेको भनाई छ ।

संक्रमण पुष्टि भएका प्रहरीलाई जिल्ला प्रहरी कार्यालय भित्रको आइसोलेसन मै राखिने छ । कोरोना संक्रमण पुष्टि भएपनि कुनै लक्षण नदेखिएको बताईएको छ । यस अगाडि प्रदेशखबरले सरुवा भएका प्रहरी र सेनाले कोरोना संक्रमणको जोखिम बढाएको समाचार प्रकाशन गरेको थियो ।