भेन्टिलेटर र आइसियूको अभावमा एक कोरोना संक्रमितको मृत्यु

भेन्टिलेटर र आइसियूको अभावमा सप्तरीमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

सप्तरीको राजविराज नगरपालिका वडा नम्बर २ की ६५ वर्षीया महिलाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

शुक्रबार गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालको आकश्मिक कक्षमा भर्ना भएकी उनको सोही दिन स्वाब संकलन गरिएकोमा शनिबार रिपोर्ट पोजेटिभ आएको थियो ।

तर शनिबार राति उपचारकै क्रममा सास फेर्न गाह्रो भएपछि ती महिलालाई थप उपचारका लागि विराटनगर रिफर गरिएकोमा बाटोमै मृत्यु भएको यादवले बताए ।

गजेन्द्र नारायण सिंह अस्पतालमा चारवटा भेन्टिलेटर भए पनि आइसियूको अभावमा प्रयोग बिहीन छ। गम्भीर किसिमका संक्रमितलाई यहाँबाट अन्यत्र रिफर गरिँदै आएको छ । सप्तरीमा हालसम्म ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।