झापामा गोली चल्यो, एकजना स्थानीयबासी घाइते

झापाको झापा गाउँपालिकामा गोली चलेको छ।

स्थानीयबासीले गाई काटेको विषयमा केही स्थानीयबासीलाई प्रहरीले पक्राउ गरेपछि विवाद बढ्दै जाँदा केही बेरअघि सशस्त्र प्रहरीले गोली चलाउँदा एकजना स्थानीयबासीलाई गोली लागेर गम्भीर घाइते भएका छन्।

स्थानीयले गाई काटेको विषयमा विवाद भएपछि झापा गाँउपालिका–३ कामाटोली पुगेको सशस्त्र प्रहरीले गोली चलाएको हो।

स्थानीयबासीले सशस्त्र प्रहरीमाथि आक्रमण गरेपछि सशस्त्र प्रहरीले फायर खोलेको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले जानकारी दिए।

गाई काटेको निहुँमा प्रहरीले दिउँसो दुई जनालाई पक्राउ गरेको थियो। उनीहरुलाई जिल्लामा लैजान खोजेपछि स्थानीयबासी आक्रमणमा उत्रिएको बताइएको छ।

सशस्त्र प्रहरीको गोली लागेर स्थानीयबासी आलम भनिने घाइते भएका छन्। उनको पेटमा गोली लागेको छ।

उनको विर्तामोडमा रहेको बिएण्डसी अस्पतालमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी मगरले जानकारी दिए।