
स्वास्थ्य मन्त्रालयका एक जना अधिकारीले बताए अनुसार नेपालमा ‘तेश्रो चरणको क्लिनिकल ट्रायल’ को अनुमति दिन माग गरिएको प्रस्तावमा नवलपरासीमा कारखाना रहेको होङ्सी शिवम सिमेन्टमा कार्यरत चिनियाँहरूमा खोप लगाउने भनिएको छ।
हालसम्म कोरोनाभाइरसको खोपको परीक्षणमा नेपाल सहभागी भइसकेको छैन। अधिकारीहरूले कोभिड–१९ का बिरामीको उपचारमा प्रयोग हुने गरेको रेम्डेसिभीर नामक औषधिको परीक्षण भने सुरु गर्न लागिएको जनाएका छन्।
नेपालकै सबैभन्दा ठूलो भनिएको उक्त सिमेन्ट कारखानामा चीनको होङ्सी समूह अन्तर्गतको हङकङ रेड लायन नम्बर ३ सिमेन्ट कम्पनी लिमिटेडको ७० प्रतिशत र नेपालको शिवम सिमेन्टको ३० प्रतिशत साझेदारी छ।
झण्डै ३६ अर्ब रुपियाँको लगानी रहेको सिमेन्ट कारखानामा लगभग २०० जना चिनियाँहरू कार्यरत रहेको बताइन्छ।
नेपाल उद्योग परिसङ्घका अध्यक्ष तथा होङ्सी सिमेन्टका निर्देशक सतीश मोरले उक्त प्रस्ताव अझै छलफलको चरणमा रहेको बताए।
“हामीले तेश्रो चरणको परीक्षणमा रहेका चिनियाँ खोपहरू मगाउन सकिन्छ कि भनेर कोशिश गरेका हौँ। नेपाल र चीन दुवैको सरकारी पक्षले अनुमति दियो भने मात्रै त्यस्तो हुनसक्छ। अहिलेसम्म त्यो विन्दुबाट हामी टाढै छौँ।”
सुरुमा चिनियाँ कामदारमा परीक्षण गरिएपनि पछि अरू नेपालीहरूसम्म पनि उक्त परीक्षण विस्तार गर्न सकिने मोरले बताए। उक्त सिमेन्ट कारखानाले त्यहाँ कार्यरत नेपालीहरूलाई पनि कोभिड–१९ को खोपको परीक्षणमा इच्छा रहे या नरहेको सहितको बेहोराको फाराम भर्न लगाएको थियो।
त्यसमा अधिकांश नेपाली कामदारहरूले खोपको परीक्षणमा सहभागी हुन इच्छा नदेखाएको बताइन्छ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव डाक्टर प्रदीप ज्ञवालीले भने, “कोभिड–१९ विरूद्धको खोपको तेश्रो चरणको परीक्षणका लागि चिनियाँ समूह नेपालमा आउन इच्छुक रहेको छ। यसबारेमा कागजी प्रक्रिया अघि बढाउन सकिन्छ भनेर मैले भनेको छु।”
उनले थपे, “उक्त खोपको परीक्षण नेपालमा काम गरिरहेकालाई चिनियाँहरूलाई मात्रै नभइ अरूलाई पनि गर्न सकिन्छ भन्ने इच्छा हामीले राखिरहेका छौँ।” उक्त विषयबारे बीबीसीले सोधेको प्रश्नमा परराष्ट्र मन्त्रालय वा बेइजिङ्गस्थित नेपाली दूतावासले जवाफ दिएका छैनन्।
विज्ञ के भन्छन् ?
सङ्क्रामक रोग सम्बन्धी अनुसन्धानकर्ता एवम् पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक डाक्टर बुद्ध बस्न्यात कोरोनाभाइरसको खोप मात्रै नभै उपचार र सङ्क्रमण पहिचान तीनवटै क्षेत्रमा भइरहेका अध्ययन अनुसन्धानमा नेपालले पनि साझेदारी गर्नुपर्ने बताउँछन्।
उनले भने, “दक्षिण एसियामा सङ्क्रमण बढिरहेको छ। यो अवस्थामा राम्रो छवि भएको विश्वविद्यालय र निकायहरूले हामीलाई सम्पर्क गर्दा हाम्रो नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले पनि इच्छा व्यक्त गर्नुपर्छ। परिषद्को छवि राम्रो छ र त्यो सक्रिय हुन आवश्यक छ।”
डाक्टर बस्न्यातका अनुसार खोपको परीक्षण गर्दा तथ्याङ्कको सुरक्षा र बिरामीमा देखिएका नकारात्मक असरको अनुगमन गर्ने संयन्त्र आवश्यक पर्छ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद् त्यस विषयमा अनुभवी रहको भन्दै उनले अनुसन्धान सहभागी हुँदा संसारमै देखा परेको नयाँ भाइरससँग जुझ्न नेपालले पनि सहकार्य गरेको भन्ने सन्देश जाने बताए।
“दक्षिण एसियामा सङ्क्रमण बढिरहेको छ। यो अवस्थामा राम्रो छवि भएको विश्वविद्यालय र निकायहरूले हामीलाई सम्पर्क गर्दा हाम्रो नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले पनि इच्छा व्यक्त गर्नुपर्छ। परिषद्को छवि राम्रो छ र त्यो सक्रिय हुन आवश्यक छ।”
“अनुसन्धान गर्दा काम नगर्न पनि सक्छ। त्यसले जथाभावी परीक्षणहरू, खोपहरू काम लाग्दैन भनेर प्रमाणित गर्यो भने त्यो पनि महत्वपूर्ण नै हुन्छ। तर सहभागी हुँदा अगाडिबाटै हामीले परीक्षण सफल भयो भने पछि हामीलाई पनि खोपहरू उपलब्ध गराइदिनुपर्यो भन्न सकिन्छ। त्यसमा एक किसिमले हाम्रो पनि दाबी रहन्छ।”
उनले कोभिड–१९ को खोप, उपचार र सङ्क्रमण पहिचान तीनवटै क्षेत्रमा चीन हाल अग्रणी रहेको भन्दै नेपालमा चिनियाँ खोपको परीक्षणलाई अनुमति दिने अवस्थामा त्यसलाई चिनियाँ कामदारको पहुँचमा मात्रै राखिनु नहुने बताए।
“चिनियाँलाई मात्रै गराउने भन्ने कुरा सुन्दै कस्तो कस्तो लाग्छ। गर्ने नै हो भने राम्रोसँग मापदण्डहरू पालना गरेर अनि निगरानी गरेर सबैलाई गर्नुपर्यो हाम्रोमा त्यस्तो गर्नसक्ने जनशक्ति पनि छ।”
उनले केही समय पहिले अक्सफोर्ड विश्वविद्यालय र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले मिलेर ललितपुरमा टाइफ्वाइडको खोपको परीक्षण गरेको उल्लेख गर्दै त्यसमा उक्त खोप एकदमै प्रभावकारी पाइएपछि पाकिस्तानमा प्रयोग भइरहेको बताए। वीवीसीबाट